पर्सा, २१ मंसिर । नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव आइतबार मधेस प्रदेशका छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भई शपथ ग्रहण गरेका छन्। जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ खुवाए। यससँगै मधेस प्रदेशमा पहिलोपटक नेपाली काँग्रेसले नेतृत्व सम्हाल्ने अवसर पाएको छ।

यसअघि मंसिर १९ गते यादव सात दलको समर्थनमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १२, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी जम्मा ७७ सांसदको समर्थन प्राप्त भएको थियो। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ।

शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने बताए। सत्तारुढ सातदलीय गठबन्धनको बैठकले समेत तीन दिनभित्रै विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए।

शपथ लगत्तै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारको पहिलो चरण पूरा गरेका छन्। प्रदेश प्रमुख कर्णले तीन जना मन्त्रीलाई शपथ खुवाए। नेपाली काँग्रेसका जंगीलाल राय यादव र एकीकृत समाजवादीका कनिश पटेल बिना विभागीय मन्त्री बनेका छन् भने जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीका रूपमा शपथ लिए। बाँकी मन्त्रालयहरू विश्वासको मतपछि टुंगो लाग्ने बताइएको छ।

यसअघि गत कात्तिक २४ गते एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए। तर सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि पर्याप्त समर्थन जुटाउन नसकेर उनी पदबाट हट्नुपरेको थियो। उनलाई असंवैधानिक रूपमा नियुक्त गरिएको ठहर गर्दै तत्कालीन प्रदेश प्रमुख सुमना सुवेदी भण्डारीलाई बर्खास्त गरिएको थियो भने सभामुख रामचन्द्र मण्डल महाअभियोगबाट पदमुक्त भएका थिए। २४ दिनभित्रै एमालेले मधेस प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुख तीनै पद गुमाएको थियो।

हाल प्रदेशसभाको सभामुख पद रिक्त छ र बैठकहरू उपसभामुख बबिता राउत ईशरले सञ्चालन गर्दै आएकी छन्।

नयाँ सरकार गठनसँगै मधेस प्रदेशमा राजनीतिक स्थिरताको अपेक्षा गरिएको छ। विश्वासको मत लिएपछि पूर्ण मन्त्रिपरिषद् गठन गरी नीति तथा कार्यक्रम अघि बढाउने तयारी सरकारले गरेको बुझिएको छ।