मंसिर २१, पर्सा। जगरनाथपुर गाउँपालिका–२ पाण्डेपुरस्थित श्री नेराप्रावि विद्यालयको प्रांगणमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। सामाजिक संस्था दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मंच को आयोजनामा तथा केडिया आँखा अस्पताल परवानीपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

संस्थाका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको नेतृत्वमा सम्पन्न शिविरबाट महिला तथा पुरुष गरी कुल ३१७ जना लाभान्वित भएका छन्। जाँचका क्रममा १०७ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् भने आवश्यकताअनुसार ९४ जनालाई निःशुल्क आँखा ड्रपसमेत वितरण गरिएको छ।

मोतियाबिन्दुका बिरामीहरूलाई आजदेखि लगातार तीन दिनसम्म प्रत्येक दिन ३५ जनाको समूह बनाएर केडिया आँखा अस्पताल परवानीपुरमा पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो। पाण्डेपुरदेखि परवानीपुरसम्म आवत–जावतका लागि आवश्यक सवारी साधनको व्यवस्था समेत चौधरीले आफ्नै खर्चमा मिलाएको जनाइएको छ।

शिविरमा समाजसेवी शहरुम राउत गदी, युवा नेता शिवजी साह कलवार, सोनु मिश्र, घनजय यादव, स्थानीय पन्नालाल महतो कोइरी, नरेश यादव, डाक्टर रासदेव साहसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।