वीरगञ्ज, २२ मंसिर । समान जनसङ्ख्याका आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नेसहित ३५ बुँदे माग अघि सारेको जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि धर्ना कार्यक्रम गरेको छ। बिहान ११:३० बजेदेखि दिउँसो ३ बजेसम्म जिल्ला प्रशासन कार्यालयको मुख्य गेट अगाडि जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा नेता तथा कार्यकर्ताहरू धर्नामा बसेका थिए।

जसपाले आफ्नो मुख्य मागमा समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको पुनः संरचना, भौगोलिक कठिनाइका कारण प्रतिनिधित्वमा पछाडि रहेको हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व, प्रदेशमा स्वशासन र सङ्घमा साझेदारी प्रणालीको व्यवस्था, संविधान संशोधन तथा पुनरावलोकनमार्फत राष्ट्रिय–जातीय पहिचानको सम्मान तथा २०६८ सालको उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार ‘१०+१’ संरचनामा राज्य पुनर्संरचना गर्ने विषय समावेश गरेको छ।

त्यस्तै, दलित र महिलालाई छुट्टै आरक्षित निर्वाचन क्षेत्र, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू, जनताद्वारा प्रत्यक्ष रूपमा निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, संसदमा समानुपातिक समावेशी प्रतिनिधित्व, राष्ट्रिय सभामा प्रादेशिक जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था, स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार दिनुपर्ने, स्थानीय तहको निर्वाचन गैर–दलीय आधारमा गर्नुपर्ने मागहरू पनि समेटिएका छन्।

युवा पुस्ताको जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गर्नुपर्ने, आन्दोलन दमनका क्रममा भएका हत्या, हिंसा र आगजनीको छानबिन गरी कानुनअनुसार कारबाही गर्नुपर्ने, अल्पसङ्ख्यक समुदायका लागि स्वायत्त तथा संरक्षित क्षेत्र निर्धारण, भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चित गर्ने, शिक्षामा व्यापारीकरण अन्त्य गर्ने र सबैका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने माग जसपाले राखेको छ।

साथै, विपन्न, दलित, महिला, भूमिहीन, सुकुम्वासी, किसान र मजदुरका समस्या समाधान, वास्तविक सुकुम्वासीलाई आफ्नै जिल्लामा बासको व्यवस्था, सरकारी कामकाजमा बहुभाषिक नीति लागू, युवा स्वरोजगार कार्यक्रममार्फत तालिम तथा पुँजीको व्यवस्था, रोजगारी नपाएसम्म बेरोजगारी भत्ता, प्रदेश प्रहरी, कर्मचारी र कानुनको व्यवस्था, कृषि क्षेत्रको व्यवसायीकरण र अत्यन्त विपन्न वर्गका लागि सस्तो दरमा खाद्यान्न उपलब्ध गराउन रासन कार्ड प्रणाली लागू गर्नुपर्ने माग पनि समावेश गरिएको छ।

यही क्रममा मधेस जनविद्रोह, थरुहटलगायतका आन्दोलनमा संलग्नमाथि लगाइएका मुद्दा खारेज गरी राजबन्दीहरूलाई रिहाइ गर्नुपर्ने माग पनि जसपाले उठाएको अध्यक्ष यादवले बताए।

माग पूरा गराउन शुक्रबार र आइतबार दुई दिनसम्म धर्ना आयोजना गरिएको जसपा पर्साले जनाएको छ। धर्नामा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, शशी कपूर मियाँ, करिमा बेगम, घनश्याम गुप्तालगायत नेताहरू उपस्थित थिए।