पर्सा, २३ मंसिर –नेपाल सीमाको व्यस्त र संवेदनशील नाका रक्सौलबाट लागुऔषध तस्करी रोकथामका क्रममा भारतीय सुरक्षातन्त्रले ठूलो सफलता हात पारेको छ। नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले लामो समयदेखि निगरानीमा राख्दै आएको नेपालका कुख्यात लागूऔषध तस्कर मेघराज साह अन्ततः रक्सौल सीमाक्षेत्रबाट पक्राउ परेका छन्।

बिहारको हरैया थानाले आइतबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्दै मेघराज साहसहित कुल नौ किलो १७८ ग्राम चरेससहित ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो। पक्राउ परेका सबैजनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ।

हरैया थानाका अनुसार साहलाई रक्सौल कस्टम नजिकै भारतको नम्बर प्लेट भएको थार गाडीमा सवार अवस्थामा रोकेर चेकजाँच गर्दा ७ किलो १७८ ग्राम चरेस बरामद गरिएको थियो। केही दिनदेखि साहको गतिविधि शंकास्पद भएको भन्दै प्रहरीले गोप्य निगरानी बढाएको थियो। गाडी रोकिनासाथ तलासी बढाउँदै जाँदा लागुऔषध भेटिएपछि उनी तत्काल पक्राउ परेका हुन्।

साहसँगै जोडिएर आएको भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई जनाबाट थप २ किलो चरेस बरामद गरिएको छ। दुवै समूहलाई एकैसाथ पत्रकार सम्मेलनमा प्रस्तुत गर्दै प्रहरीले यो तस्करी समूह लामो समयदेखि सक्रिय रहेको र संगठित स्वरूपमा लागुऔषध कारोबार गर्दै आएको बताएको छ।

लागुऔषध गाँजा तथा चरेसको ठूला तस्करीमा संलग्नता रहेको आरोपमा मेघराज साह नेपालमै पटक–पटक पक्राउ परेर सजाय भोगिसकेका व्यक्तिमध्ये एक हुन्। पर्सा, बारा, मकवानपुर र धादिङसहित विभिन्न जिल्लाका प्रहरी प्रमुख तथा अधिकृतहरूले पनि उनलाई चिन्ने गरेको बताइन्छ। हालै बिहारमा पक्रिएको ५० किलो चरेस काण्डमा समेत अन्य अभियुक्तहरूले बयानमार्फत साहको नाम खुलाएका थिए। फरार सूचीमा रहेका उनको खोजी भइरहेकै बेला यसपटक रक्सौल कस्टम नजिकैबाट उनलाई पक्राउ गरिएको हो।

अनुसन्धानले साहले मकवानपुरको लोथर, मनहरी क्षेत्रमा रहेको जङ्गलमार्ग हुँदै भरियामार्फत पैदल ढुवानी, तथा विभिन्न सवारीसाधन प्रयोग गरेर लागूऔषध भारततर्फ तस्करी गर्दै आएको पुष्टि गरेको छ। वीरगञ्ज–१३ राधेमाई टोलमा रहेको उनको चारतले घर, गाउँको पेट्रोल पम्प र अन्य व्यवसायहरू पनि अवैध धन्दाबाट आएको पैसाबाट सञ्चालन भएको आशंका प्रहरीले गरेको छ।

रक्सौल–वीरगञ्ज सीमा तस्करीको प्रमुख केन्द्र मानिन्छ। खुला सीमा, भीडभाड, र दुवै देशको अपूरो निगरानीका कारण यहाँको सुरक्षा चुनौतीपूर्ण बन्दै आएको छ। यस घटनाले पुनः सीमाक्षेत्रमा कडाइका साथ निगरानी र संयोजन आवश्यक रहेको संकेत दिएको छ।

मेघराज साहसहित पक्राउ परेका व्यक्तिहरूको मोबाइल, सम्पर्क नेटवर्क, गाडीको यात्रा इतिहास र वित्तीय कारोबारबारे विस्तृत अनुसन्धान सुरु गरिएको हरैया थानाले जनाएको छ। प्रारम्भिक सूचनाअनुसार यो नेटवर्कमा नेपाल तथा भारत दुवै देशका व्यक्तिहरू संलग्न रहेको आशंका बलियो बन्दै गएको छ। प्रहरीले आगामी दिनमा थप पक्राउ तथा ठूलो तस्करी चक्र पर्दाफास हुन सक्ने संकेत जनाएको छ।