पर्सा, २३ मंसिर — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. ३ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। नेपाली कांग्रेसले क्षेत्रीय स्तरमै आन्तरिक तयारीलाई गति दिँदै प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा—तीनै तहका लागि व्यापक छलफलपछि प्रारम्भिक उम्मेदवारहरूको सूची सार्वजनिक गरेसँगै यहाँको चुनावी माहोल झनै तातिएको छ।

सोमबार बसेको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. ३ को विस्तारित बैठकमा स्थानीय नेता, क्षेत्रीय प्रतिनिधि तथा सक्रिय कार्यकर्ताले सहभागी भएर लोकप्रियता, संगठनगत प्रभाव, विगतको राजनीतिक योगदान र जित्ने सम्भावनाका आधारमा नामहरू सिफारिस गरेका थिए। बैठकपछि क्षेत्रीय सभापति श्रीकिसुन चौहानले विभिन्न पक्षका सूक्ष्म मूल्यांकनपछि सूची केन्द्रमा पठाइने जानकारी दिएको छ।

बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फका लागि पाँच जना सशक्त उम्मेदवारको नाम अघि सारेको छ। यसमध्ये पूर्वमन्त्री तथा पूर्वसांसद सुरेन्द्र प्रसाद चौधरीको नाम धेरैको ध्यान आकर्षित गरिरहेको छ भने जनार्दन सिंह क्षेत्री, शम्भु चौहान, असर्फी साह र भगवती चौधरीले पनि अन्तिम टिकटका लागि दाबी बलियो बनाउँदै लगेका छन्। यसपटक कांग्रेसभित्र अनुभव र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा स्पष्ट रूपमा देखिएको छ, जसले टिकट चयन प्रक्रियालाई झनै संवेदनशील बनाएको छ।

समानुपातिकतर्फ मुकेश कुर्मी, ध्रुव कुशवाहा र मनोज यादवको नाम सिफारिस गर्दै क्षेत्रीय समितिले भौगोलिक, जातीय र सामाजिक सन्तुलनलाई प्राथमिकता दिएको जनाएको छ। यस्तै, राष्ट्रिय सभा सदस्यका लागि पर्सा–३ बाट ललन दुवेदी र सिन्धु मेहताको नाम अघि सारिएपछि कांग्रेसभित्र आन्तरिक शक्ति–समिकरणबारे नयाँ चर्चा पनि सुरु भएको छ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ विशेषगरी सुरेन्द्र प्रसाद चौधरी र जनार्दन सिंह क्षेत्रीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। स्थानीय कार्यकर्ताहरूका अनुसार संगठनगत पकड, जनधार र चुनावी तयारी दुवैले यी दुईको सम्भावना उस्तै बलियो देखिएको छ। यही कारण सूची सार्वजनिकसँगै क्षेत्र नं. ३ मा मुख्य प्रश्न उठेको छ—“क्षेत्र नं. ३ को भविष्य कसले सुरक्षित बनाउने?” आगामी दिनमा मतदाताको मन जित्ने रणनीति, स्थानीय मुद्दा उठाउने क्षमता र विकासका प्रतिवद्धताले नै अन्तिम समीकरण निर्धारण गर्ने देखिन्छ।

सिफारिस गरिएको नामहरूलाई प्रारम्भिक सूचीका रूपमा केन्द्रमा पठाइने भएको छ। आवश्यक परे थप छलफल र परिमार्जन हुने सम्भावना रहेको समितिले जनाएको छ। कांग्रेसभित्रै टिकटका अन्तिम छानोट प्रक्रियाले पर्सा–३ को राजनीतिक समीकरणलाई झनै रोचक बनाएको छ। स्थानीयवासीहरूको भनाइमा—“अब टिकट कसले पाउँछ? यही नै आगामी राजनीतिक यात्राको मुख्य मोड हुनेछ।”

पर्सा क्षेत्र नं. ३ मा यसपटकको निर्वाचन कांग्रेसका लागि मात्र होइन, समग्र क्षेत्रमा राजनीतिक दिशा परिवर्तन गर्ने निर्णायक क्षणका रूपमा हेरिएको छ। प्रारम्भिक सूची सार्वजनिक भएसँगै आन्तरिक प्रतिस्पर्धा, रणनीति निर्माण र जनमत व्यवस्थापनको दौड तीव्र गतिमा अघि बढिसकेको छ।