पर्सा,२३ मंसिर – संघीय सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गरेको छ। यसैगरी, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गरिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, मन्त्रिपरिषद् सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांग व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने कार्यविधि २०८२ पनि स्वीकृत गरेको छ। साथै, आन्दोलनका घाइतेका लागि शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।

त्यसैगरी, सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय तथा आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व दोस्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता खरेलले जानकारी दिए।

मन्त्रिपरिषद्ले विभिन्न १० जिल्लाका ९४ हजार ५२७ गरिब परिवारको सूची पनि स्वीकृत गरेको छ।