जापान – जापानमा सोमबार राति ११:१५ बजे स्थानीय समयअनुसार ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रबिन्दु समुद्र सतहभन्दा करिब ५० किलोमिटर तल रहेको जनाएको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थानीय अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन् र मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिइएको छ।

जापानका प्रधानमन्त्री साने ताकाइचीले भने, “आफ्नो भूकम्प तयारीको पुनः मूल्यांकन गर्नुहोस् र भूकम्पको झट्का महसुस भयो भने तुरुन्तै खाली हुन तयार रहनुहोस्।” उनका अनुसार लगभग ९० हजार मानिसहरूलाई आफ्नो घर खाली गर्न आदेश दिइएको छ।

भूकम्पपछि आओमोरी प्रान्तका २,७०० घरहरूमा बिजुली काटिएको थियो। आओमोरी शहरमा दुईवटा आगलागीसमेत भएका छन्। जापानी मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प जापानको मुख्य होन्सु टापुको उत्तरी भाग आओमोरीको पूर्वतिर र होक्काइडो टापुको दक्षिणतिर गएको थियो।