काठमाडौँ। नयाँ भन्सार ऐन कार्यान्वयनसँगै देशभरका भन्सार कार्यालयमा जाँचपास प्रभावित भएपछि भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको छ। नयाँ ऐनका केही प्रावधानप्रति असहमति जनाउँदै भन्सार एजेन्टहरू आन्दोलनमा उत्रिएपछि आयात–निर्यात ठप्प बनेको हो।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले समस्या लामो समय नतन्कियोस् भनेर तत्काल वार्ता सुरु गरिएको जानकारी दिए। “हामी वार्तामा बस्दै छौं। एजेन्टहरूको कुरा सुनेर आजै समाधान खोज्ने प्रयास भइरहेको छ,” उनले भने।

एजेन्टहरूले नयाँ ऐनमा समावेश दण्ड–जरिवानाको व्यवस्था, मूल्यांकन प्रणाली, सर्भर समस्यालगायत पेशागत हकहितका विषयमा असहमति जनाउँदै देशभर काम बन्द गरेका थिए। यसको प्रत्यक्ष असर वीरगञ्जजस्ता मुख्य भन्सार नाकामा परेको छ।

वीरगञ्ज भन्सार कार्यालयमा औद्योगिक कच्चा पदार्थ, खाद्य सामग्री, मेसिनरी, विद्युत उपकरणलगायत एजेन्टको भूमिकामा निर्भर सबै सामग्री रोकिएका छन्। यसले राजस्व संकलनमा समेत गम्भीर असर पारेको छ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार दैनिक करिब ७३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालको आन्दोलनले लक्ष्यमा प्रत्यक्ष असर परेको छ।

हाल भन्सार एजेन्टहरू वार्ताका लागि कार्यालयमै पुगेका छन्। आवश्यक भए नयाँ ऐनमा संशोधन प्रक्रिया अघि बढाइने संकेत गर्दै प्रशासन पक्षले वार्ताबाट व्यावहारिक समाधान निकाल्ने तयारी गरेको जनाएको छ।

भन्सार विभागले दुवै पक्षबीच आजै केही सहमति हुने आशा व्यक्त गरेको छ।