२३ मंसिर, काठमाडौं। नेपाली कांग्रेस ले नयाँ क्रियाशील सदस्यता वितरणका लागि झण्डै साढे सात लाख फारम जिल्लाहरूमा पठाएको छ। सुरुमा २५ प्रतिशत र पछिल्लो चरणमा ७५ प्रतिशत सदस्यता फारम जिल्लामा पठाइएको पार्टी कार्यालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार हाल १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १९ वटा क्षेत्रमा मात्र नयाँ फारम पुग्न बाँकी छन्। उक्त संख्या बुधबारसम्म घटेर १० मा झर्ने अनुमान गरिएको छ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’का अनुसार अपवादबाहेक सबै जिल्लामा केन्द्रीय कार्यालयबाट नयाँ क्रियाशील सदस्यता फारम पठाइसकिएको छ। “केही जिल्लाबाट थप फारमको माग पनि आएको छ,” उनले बताए।

कांग्रेसले गत असारमा क्रियाशील सदस्यताको अनुपातमा २५ प्रतिशत नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। तर १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता वितरणमा लचकता अपनाउने निर्णय गरेपछि अहिले नयाँ क्रियाशील सदस्यताको माग तीव्र रूपमा बढेको जनाइएको छ।

सदस्यता व्यवस्थापन समितिले ७७ जिल्लाका सभापतिहरूलाई क्रियाशील सदस्यता नवीकरणका लागि ‘डाटा इन्ट्री’ गर्ने उद्देश्यले ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराइसकेको छ। साथै बुधबारसम्म १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिका सभापतिहरूलाई पनि सोही प्रयोजनका लागि ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराइने रसाइलीले जानकारी दिए।Source : Onlinekhabar