काठमाडौँ। भन्सार विभागभन्सार एजेन्ट महासंघ बीच बुधबार भएको वार्तामा सहमति जुटेको छ। सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल सञ्चालनमा ल्याउन भन्सार एजेन्टहरू सहमत भएका छन्।

वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’ मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरी सहजीकरण गर्ने विषयमा विभाग सहमत भएको छ। उक्त उपदफाअनुसार विद्युतीय माध्यमबाट वस्तुको विवरण घोषणा गर्दा आवश्यक कागजात फरक रूपमा संलग्न भएमा घोषणाकर्तालाई दश प्रतिशत जरिवाना तिराएर मात्र वस्तु जाँचपास गर्ने व्यवस्था थियो।

वार्तामा सो जरिवाना व्यवस्था भन्सार ऐनको दफा २० को उपदफा १० र ११ अनुसार तत्कालका लागि छुट दिने सहमति भएको जनाइएको छ।

यसका साथै, भन्सार एजेन्टको इजाजतपत्र अनलाइनमार्फत नवीकरण गर्ने, तथा इन्ट्री र एक्जिट नोटहरू भन्सार एजेन्ट स्वयंले जारी गर्न सक्ने व्यवस्था मिलाउने विषयमा पनि सहमति भएको छ।

यी सहमतिसँगै देशभरका भन्सार कार्यालयहरूमा एजेन्टहरू काममा फर्किने भएपछि केही दिनदेखि प्रभावित आयात–निर्यात प्रक्रिया पुनः सहज हुने अपेक्षा गरिएको छ।