धुलिखेल। सुशीला कार्की ले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न सरकार सक्रिय रूपमा लागेको स्पष्ट पार्नुभएको छ। बुधबार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालय को ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयमा मौलाउँदै गएको राजनीतिकरण अन्त्य गर्न उक्त व्यवस्था परिवर्तन आवश्यक भएको बताउनुभयो।

काठमाडौँ विश्वविद्यालयकी कुलपति समेत रहनुभएकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐन संशोधन गर्न सरकार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन को नेतृत्वमा शिक्षाविद्, विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति तथा अन्य सरोकारवालासँग गम्भीर परामर्शमा जुटेको जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो,

“पछिल्लो समय प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ। ऐन संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ सरकार अघि बढेको छ। यसले नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परा अन्त्य गर्ने हाम्रो विश्वास छ।”

उहाँले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौँ विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै त्यसका सकारात्मक अभ्यास र शैक्षिक ढाँचालाई देशका अन्य विश्वविद्यालयहरूले समेत अनुशरण गर्नुपर्ने सुझाव दिनुभयो।