वीरगञ्ज। वीरगञ्ज महानगरपालिका लाई यहाँ सञ्चालनमा रहेका विभिन्न बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन्। आज आयोजित एक कार्यक्रमकाबीच बैंकहरूले महानगरपालिकालाई ९ थान कम्प्युटर हस्तान्तरण गरेका हुन्।

गत भदौ २३ र २४ गते ‘जेन्जी’ नामक आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीबाट महानगरपालिकाको भवन तथा कार्यालय सामग्री पूर्ण रूपमा नष्ट भएपछि नगरका नियमित सेवाप्रवाह प्रभावित बनेका थिए। सोही सेवाप्रवाहलाई पुनः सहज बनाउन बैंकहरूले सहयोग उपलब्ध गराएका हुन्।

एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन बैंक इन्टरनेशनलप्राइम कमर्सियल बैंक ले एक–एक थान गरी ९ थान कम्प्युटर सहयोग गरेका हुन्। महानगरका सद्भावना दूत अशोक वैद्यको पहलमा उक्त सहयोग जुटाइएको जनाइएको छ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह ले संकटको समयमा बैंकहरूले पुनः सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन घडीमा साथ दिने सबै संघ–संस्थाप्रति हामी कृतज्ञ छौं।”

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकर एशोसिएशन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगञ्ज शाखाका प्रमुख रोहिणी आचार्य ले नगरवासीलाई सहज सेवा उपलब्ध गराउन बैंकहरूको दायित्व रहेको बताउँदै आवश्यक उपकरण सहयोगस्वरूप उपलब्ध गराइएको जानकारी दिनुभयो।

यसअघि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाललगायत विभिन्न संघ–संस्थाले पनि कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन्।