सुनसरी। धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्का का अनुसार आज बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ जाँदै गरेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक धरान–१९ एकता मार्ग निवासी २४ वर्षीय निमेष भुजेललाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त अटोमा सवार धरान–१९ कै ४८ वर्षीय टिकाराम लिम्बू घाइते भएका छन्। उहाँको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

अटोलाई ठक्कर दिने बस चालक धरान–१४ निवासी २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालय धरान ले नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।