काठमाडौँ। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा निर्वाचन आयोग लाई क्षति हुनबाट जोगाउन सफल तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं. २४ बाघभैरब गुल्म लाई आयोगले बुधबार सम्मान गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मंसिर २४ गते बाघभैरब गुल्म तथा तत्कालीन गुल्मपति सुरेश कोइराला लाई सम्मान गर्दै आयोगको सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

भदौ २४ गते काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा प्रदर्शनकारी समूहले तोडफोड तथा आगजनीको प्रयास गरेपछि गुल्मपति कोइरालाको कमाण्डमा खटिएको टोलीले भिडलाई अगाडि बढ्न नदिई मुख्य गेटको केही भित्रै रोकेर सम्झाइ–बुझाइ गरेको थियो।

सम्झाइ–बुझाइबाट पनि भिड नियन्त्रणमा नआएपछि उक्त टोलीले सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पार्दै उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिई निर्वाचन आयोगलाई ठूलो क्षतिबाट जोगाएको आयोगले जनाएको छ।