पर्सा, २५ मंसिर । पर्सागढी नगरपालिका–६ का वडाध्यक्ष नवलकिशोरप्रसाद कलवारले आफूले पाउनुपर्ने तलब तथा अन्य सुविधाहरू लामो समयदेखि नपाएको आरोप लगाउँदै वडा कार्यालयबाट प्रदान हुने सबै प्रकारका सेवाहरू स्थगित गरेका छन्। बुधबार सूचना प्रकाशित गर्दै उनले मंसिर २४ गतेदेखि पुस २ गतेसम्मका लागि बिदामा बसेको र सो अवधिभर वडा–६ का सम्पूर्ण काम रोकिएको जानकारी नगरपालिका कार्यालयलाई दिएका छन्।

कलवारका अनुसार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय तहका पदाधिकारी र सदस्यले पाउनुपर्ने सुविधा सम्बन्धी ऐनले व्यवस्था गरेअनुसारका सेवा–सुविधा आफूलाई उपलब्ध नगराइएको छ। उनले विगत केही महिनादेखिको तलब तथा सुविधा रोकिएको र आर्थिक वर्ष २०८१/८२ को बाँकी रकम समेत भुक्तानी नगरेको आरोप लगाएका छन्। यसबारे नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको उनको दाबी छ।

उनको भनाइमा तीन महिनादेखि आफूलाई मात्र सेवा–सुविधाबाट वञ्चित गरिँदै आएको तर अन्य जनप्रतिनिधिलाई भने नियमित रूपमा सुविधा वितरण भइरहेको छ, जसलाई उनले स्पष्ट भेदभावको रूपमा व्याख्या गरेका छन्।

सेवा बन्द र बिदामा गएको बारेमा उनले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई जानकारी गराइसकेका छन्।

वडाध्यक्ष सेवा स्थगित भएपछि वडा–६ का सेवाग्राहीहरूलाई सामान्य प्रशासनिक काम, सिफारिसलगायतका सेवाहरूका लागि अब पुस २ गतेसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।