पर्सा, मंसिर २५ / गादीमाई साझेदारी वन उपभोक्ता समितिको अध्यक्ष सहरम राउत गद्दीको अध्यक्षतामा आज रङ्गपुर टाँडी सब–डिभिजन वन कार्यालय पर्साको समन्वयमा वन क्षेत्रको अतिक्रमण अवस्थाबारे विस्तृत विवरण संकलन गर्ने उद्देश्यले महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा उपस्थित पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूबीच वन संरक्षण, सीमाङ्कन तथा व्यवस्थापन सम्बन्धी विषयमा गम्भीर छलफल गरियो।

बैठकले गादीमाई साझेदारी वन क्षेत्रभित्र कति भूभाग अतिक्रमण भएको छ भन्ने तथ्याङ्क यथास्थितिमा सार्वजनिक हुने गरी सम्बन्धित गाउँपालिका तथा वडा प्रतिनिधि, वन कर्मचारी र सुरक्षा निकायको रोहवरमा संयुक्त टोली गठन गरी प्रत्यक्ष स्थल निरीक्षण, तथ्याङ्क सङ्कलन तथा सीमाङ्कन प्रकृया सुरु गर्ने निर्णय गरेको छ। सर्वसहमतिले वन संरक्षणमा थप प्रभावकारी कदम चालिने प्रतिबद्धता पनि व्यक्त भएको छ।

कार्यक्रममा बोल्दै रङ्गपुरको सब–डिभिजन कार्यालयका वन अधिकृत यास्मिन चौधरीले वन अतिक्रमण निरन्तर बढ़्दै गएको, बस्ती विस्तार र वनक्षेत्रका पुराना नक्सा आधार मानेर सीमाङ्कन गर्न आवश्यक रहेको उल्लेख गरिन्। “पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षज्यूहरूलाई पहिले देखिनै वनको वास्तविक सीमा र अवस्थाबारे जानकारी रहेको हुनाले सहकार्य अपरिहार्य छ,” चौधरीले भनिन्। उनले स्थानीय तह तथा सरोकारवाला सबैको साथ–सहयोग बिना वन जोगाउन सम्भव नभएको उल्लेख गरिन्।

गादीमाई साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष सहरम राउत गद्दीले आफ्नो कार्यक्षेत्रमा करिब १४ किलोमिटर वन क्षेत्र रहेको जानकारी दिँदै सीमाना छुट्याउने कार्य वन कर्मचारी मात्रले सम्भव नभएकाले स्थानीय तह, जनप्रतिनिधि, वन कर्मचारी, साझेदारी समिति र जनताको संयुक्त सहभागितामा गर्ने बताए। “हरियो वन नेपालको धन” नारा स्मरण गराउँदै उनले वन संरक्षणलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राखेको र दुई वर्षमै उल्लेखनीय प्रगति भएको दाबी गरे। पाँच वर्षभित्र थप उत्कृष्ट परिणाम देखाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले वनको वास्तविक सीमा पहिचान गर्नु नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै सीमाङ्कनपछि विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्ने बताए। त्यसैगरी, वडा नम्बर १ का अध्यक्ष बासुदेव महत्व थारुले पनि अन्य प्रशासनिक सिमाना जस्तै वनको स्पष्ट सिमाना निर्धारण अत्यन्त जरुरी रहेको उल्लेख गर्दै पूर्ण समर्थन रहने बताए।

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष फरमान अन्सारीले वन क्षेत्र कहाँसम्म थियो भन्ने नापी–नक्सा तथा भौगोलिक सर्वेक्षणमार्फत स्पष्ट पार्नुपर्नेमा जोड दिँदै यस कार्यमा आफूहरू पूर्ण साथमा रहने बताए।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष ममता महतो, इलाका प्रहरी कार्यालय तथा रङ्गपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकहरू जेबरलाल यादव र रामनिवास शाह, फरेस्टर पुरुषोत्तम पटेल, स्थानीय अगुवाहरू, वन कर्मचारी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले छिटोभन्दा छिटो अतिक्रमण नक्सांकन, तथ्याङ्क अद्यावधिक र सीमाङ्कन कार्य सुरु गरी वनलाई दीगो रूपमा सुरक्षित राख्ने संयुक्त प्रतिवद्धता व्यक्त गर्दै समापन भएको थियो।