पर्सा। सशस्त्र प्रहरी बल नेपाल पर्साले ९१ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा भइरहेका चोरी–तस्करी तथा लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न चलाइरहेको अभियानका क्रममा उक्त गाँजा बरामद भएको जनाएको छ।

लागुऔषध ओसारपसार र प्रयोगले समाजमा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै सशस्त्र प्रहरीले पर्सा जिल्लामा लागुऔषध नियन्त्रणलाई प्रभावकारी रूपमा अघि बढाइरहेको छ।

यसैक्रममा मंसिर २५ गते पर्साको ठोरी गाउँपालिका–४, निर्मल बस्ती क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीलाई देखेपछि करिब ९–१० जनाको समूहले नाम्लोको सहायताले ढाडमा बोकेर लैजाँदै गरेका १० वटा प्लास्टिकका पोका फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। पोका नियन्त्रणमा लिएर जाँच गर्दा प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको थियो।

उक्त गाँजाको तौल ९१ केजी रहेको र बरामद गरिएको सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएकाे सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विश्वराज योन्जनले जानकारी दिए।

सशस्त्र प्रहरीका अनुसार पर्सासहित सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका गतिविधिहरू अझ कडाइका साथ जारी रहनेछन्।