पर्सा। पकाहा मैनपुर गाउँपालिका–३ मा आयोजित निःशुल्क आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। जनमुखी युवा क्लब र पकाहा मैनपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

शिविरमा १२० जनाको आँखा परीक्षण गरिएको थियो, जसमा ३२ जनामा मोतियाबिन्दु रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पुष्टि गरेका छन्। मोतियाबिन्दु पहिचान भएका बिरामीलाई थप उपचार प्रक्रिया तथा उपलब्ध सेवाबारे विस्तृत परामर्श प्रदान गरिएको थियो।

कार्यक्रमका मुख्य अतिथि वडा नं.–३ का अध्यक्ष संजय चौहान रहेका थिए। शिविरमा जनमुखी युवा क्लबका प्रतिनिधि, तिलगंगा अस्पतालका स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा स्थानीय सर्वसाधारणको सक्रिय उपस्थिति रहेको थियो।

शिविरका आयोजकहरूले नियमित स्वास्थ्य परीक्षणको आवश्यकतामा जोड दिँदै आँखा सम्बन्धी लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेका छन्। स्थानीयवासीहरूले यस्ता स्वास्थ्यमूलक कार्यक्रमले समुदायमा महत्वपूर्ण राहत पुगेको प्रतिक्रिया दिएका छन्।