वीरगञ्ज, २६ मंसिर। समाचार संकलनका क्रममा पर्साको जिराभवानी गाउँपालिकामा पुगेका पत्रकार शैलेश गुप्तामाथि केही कर्मचारीहरूले दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ। फेमस नेपाल सन्देश साप्ताहिक का प्रकाशक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश गुप्ताले बुधबार गाउँपालिका कार्यालयमा आफूलाई अपशब्द प्रयोग गर्दै मोबाइल खोस्ने र हातपातको प्रयाससम्म भएको आरोप लगाएका छन्।

गुप्ताका अनुसार कर्मचारी इन्द्रजीत हाजरा, नायब सुब्बा जितेन्द्र मिश्रालगायतले समाचार संकलनका क्रममा उनीप्रति गालीगलौज गर्दै मोबाइल खोल्ने, फोटो डिलिट गराउने तथा धक्का–मुक्का गर्न खोजेका थिए। जिराभवानी गाउँपालिकामा अनियमितता, भ्रष्टाचार तथा कर्मचारी अनुपस्थित रहने जस्ता विषयमा स्थानीयले गुनासो गरेपछि गुप्ता करिब १२:३० बजे समाचार संकलनका लागि कार्यालय पुगेका थिए।

पत्रकार गुप्ता कार्यालयमा प्रवेश गर्दा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत अधिकांश कर्मचारी कार्यालय समयमा अनुपस्थित रहेको उनले बताए। कार्यालयका केही सहयोगी, गार्ड र २–३ जना कर्मचारी मात्र उपस्थित थिए। कर्मचारीका खाली कुर्सीका फोटो लिन खोज्दा त्यही बेला उपस्थित कर्मचारीहरूले उनको मोबाइल खोसेर दुव्र्यवहार गरेको गुप्ताले आरोप लगाए।

उनका अनुसार परिचयपत्र देखाउँदा र आफू प्रेस चौतारीको सदस्य भएको बताएपछि समेत कर्मचारीहरूले “झोले पत्रकार” भन्दै अवहेलना गरेको, अपशब्द प्रयोग गरेको र खिचिएका फोटो डिलिट गर्न बाध्य पारेको बताइएको छ। गार्ड र कर्मचारीहरूले स्थानीयहरूलाई बोलाएर हातपात गर्न खोजेपछि गुप्ताले स्थिति नियन्त्रणमा राख्दै त्यहाँबाट फर्किनुपरेको थियो।

घटनाप्रति प्रेस चौतारी नेपाल पर्साले शुक्रबार विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएको छ। प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्रद्वारा जारी विज्ञप्तिमा गाउँपालिकाको सिसिटिभी फुटेजका आधारमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दुव्र्यवहारमा संलग्न कर्मचारीमाथि कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ कि— यदि छानबिन र कारबाही प्रक्रिया अघि नबढाइए प्रेस चौतारी नेपाल पर्सा आन्दोलन गर्न बाध्य हुनेछ।