पर्सा। पर्सा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगंज–२४ का २० वर्षीय युराज पटेल, २१ वर्षीय अफजल देवान, धादिङ बेनीघाट–रोराङ–६ का १९ वर्षीय रामहरी मगर तथा धादिङ सिद्लेख–७ का १९ वर्षीय राजकुमार मगराती रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज–१५ स्थित प्रतिमा चौकमा रोकिराखिएको सार्वजनिक इभी सवारी चेकजाँच गर्ने क्रममा दुईवटा सुटकेसभित्र लुकाइएका ६० हजार ५३० पिस ट्रामाडोल क्याप्सुल फेला परेपछि दुई जनालाई घटनास्थलमै नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक बयानका आधारमा प्रहरीले वीरगंज–२४ रामगढवामा भाडामा बस्दै आएका थप दुई जनालाई समेत पक्राउ गरेको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार कोठामा खानतलासी गर्दा एक कार्टुनभित्र लुकाइएका १५ हजार ६४० पिस ट्रामाडोल क्याप्सुल बरामद गरिएको छ।

समग्रमा ७६ हजार १७० पिस लागुऔषधसहित पक्राउ परेका चारै जनालाई पर्सा प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।