सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी तथा नष्ट गरिएको छ।

मिति २०८२ साल मंसिर २८ गते बिहान करिब ११:२५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी तथा मातहत प्रहरी कार्यालयका १०० जना र सशस्त्र प्रहरी बल सुरक्षा बेस हरिवन सर्लाहीका ३० जना गरी जम्मा १३० जनाको संयुक्त टोलीले उक्त कार्य सम्पन्न गरेको हो।

प्रहरीका अनुसार करिब ४० बिगाहामा फैलिएको अवैध गाँजा खेती अन्तर्गत अनुमानित दुई लाख गाँजाका बोट फडानी गरी नष्ट गरिएको हो। फडानी तथा नष्ट गर्ने कार्य साँझ ५:१० बजेको समयमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।