पर्सा, २९ मंसिर । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित टाउन हलको सभाहलमा जिल्लाका पत्रकारहरूलाई लक्षित गरी एआई (Artificial Intelligence) को प्रयोगसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। बदलिँदो प्रविधि र डिजिटल पत्रकारिताको चुनौतीलाई मध्यनजर गर्दै पत्रकारहरूलाई नवीन प्रविधिसँग परिचित गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

आम सञ्चार प्राधिकरण जनकपुरको आयोजनामा तथा नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा जिल्लाभरिका विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य पत्रकारितामा एआईको जिम्मेवार प्रयोग, डिजिटल सुरक्षा र साइबर जोखिमबारे सचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ।

May be an image of ‎text that says '‎E पार نسگتاة ส 我 छनदा, HAR मधेश प्रदेश सरकार गृह, सझ्चार तथा कानन मन्त्रालय आमसज्चार प्राधिकरण जनकपुरधाम ए आई (AD) को प्रयोग सम्बन्ध 9 दिने तालिम मिति: २०८२/०८/२੯ गते सोमबार, समय: बिहान て:00 बजे, स्थान: टाउनहल पार्टि प्यालेश एणड होटल पिस गार्डेन विरगंज-१ पसा। आयोजक आमसज्यार प्राधिकरण मधेश प्रदेश, जनकपुरधाम समन्चय नेपाल पत्रकार महासंघ शाखा पर्सा‎'‎

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदीले पत्रकारितामा एआई प्रयोग गर्दा सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो। उहाँले एआई उपयोग गर्दा ‘अलि सम्झेर, बुझेर र विवेक प्रयोग गर्नुपर्ने’मा जोड दिँदै प्रविधिको सही सदुपयोगमार्फत पत्रकारिताको गरिमा, विश्वसनीयता र आचारसंहिता जोगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

तालिमका प्रशिक्षकहरू प्रकाश मैनाली र सुरेश पिडारीले सहजीकरण गर्दै डिजिटल दुनियाँमा बढ्दै गएका साइबर जोखिमहरूबारे विस्तृत जानकारी दिनुभयो। उहाँहरूले साइबर हमला, साइबर सुरक्षा, साइबर अपराध, डाटा चोरी, वेबसाइट ह्याङ, सामाजिक सञ्जाल तथा इमेल एकाउन्ट ह्याङ र त्यसबाट हुनसक्ने आर्थिक तथा व्यावसायिक क्षतिजस्ता विषयमा उदाहरणसहित प्रष्ट पार्नुभयो। साथै, बलियो पासवर्ड निर्माण गर्ने तरिका, दुई तहको सुरक्षा प्रणाली (Two-Factor Authentication) प्रयोग गर्ने, सरकारी तथा संस्थागत प्रणालीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। प्रशिक्षकहरूले सामाजिक सञ्जालको मर्यादित र जिम्मेवार प्रयोग गर्दै तथ्यपरक पत्रकारिता गर्न पत्रकारहरूलाई प्रेरित गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहानले केही युट्युबर र तथाकथित ‘पित पत्रकारिता’ का कारण पत्रकार आचारसंहितामाथि परेको नकारात्मक प्रभावप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो। उहाँले विद्यालयमा पुगेर बालबालिकाको अनुहार देखाएर गरिने रिपोर्टिङ, त्यसबाट बालबालिकामा पर्न सक्ने मानसिक दबाब र दीर्घकालीन असरप्रति असन्तुष्टि व्यक्त गर्दै पत्रकारहरूले अझ बढी संवेदनशीलता अपनाउनुपर्ने बताउनुभयो।

तालिम कार्यक्रममा आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल तथा मधेस प्रदेशका सचिव दीपक गौतमले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, आम सञ्चार प्राधिकरणका प्रशासनिक अधिकृत रन्जिता साह र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अशोक तिवारीले पनि कार्यक्रम सफलताको कामना गर्दै डिजिटल युगमा पत्रकारहरूको भूमिका अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अन्त्यमा सहभागी पत्रकारहरूले तालिमसम्बन्धी आफ्ना जिज्ञासा, अनुभव र धारणा राखेका थिए। रेडियो शान्भी संचार्कर्मी श्री नारायण महतोले आफूले एआई सहजै प्रयोग गरिरहेको उल्लेख गर्दै एआईको प्रयोगले छिटो र सरल रूपमा समाचार सामग्री तयार गर्न सहयोग पुगेको अनुभव साझा गर्नुभयो। उहाँले समय बचत हुनुका साथै काम अझ प्रभावकारी बनेको बताउनुभयो। यस्तै अन्य सञ्चारकर्मीहरूले पनि एआईबाट हुने फाइदा र बेफाइदाबारे प्रश्न उठाउँदै विस्तृत छलफल गरेका थिए।

समग्रमा, एआई र साइबर सुरक्षामा केन्द्रित उक्त एकदिने तालिम पत्रकारहरूका लागि ज्ञानवर्धक, व्यवहारिक र समयसापेक्ष रहेको सहभागीहरूको प्रतिक्रिया थियो।