काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति दिएको छ। अनुमति पाउने संस्थामध्ये २७ वटा राष्ट्रिय र चार वटा अन्तरराष्ट्रिय संस्था रहेका छन्।

आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो। सो आह्वानअनुसार ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका संस्थालाई मात्र पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरिएको हो।

निर्देशिकाबमोजिम आवश्यक कागजात पेस नगरेका संस्थालाई पाँच दिनभित्र थप कागजात बुझाउन आयोगले पत्राचार गरेको प्रवक्ता भट्टराईले जानकारी दिए। माग गरिएअनुसारका कागजात प्राप्त भएपछि ती संस्थाका विषयमा थप निर्णय गरिने आयोगले स्पष्ट पारेको छ।