पर्सा, १ पुष – इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले प्रहरी निरीक्षक प्रकाश थापा कार्यालय प्रमुखका रूपमा हाजिर भएयता अपराध नियन्त्रण, अनुसन्धान, तस्करी नियन्त्रण, लागुऔषध न्यूनीकरण तथा सामुदायिक सुरक्षामा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

२०८१ पुषदेखि २०८२ पुष मसान्तसम्मको ११ महिने अवधिमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध उत्खनन तथा तस्करीविरुद्ध कडा कारबाही, ट्राफिक व्यवस्थापन र व्यापक जनचेतनामूलक कार्यक्रममार्फत स्थानीयस्तरमा सुरक्षा अनुभूति मजबुत बनाएको प्रहरीको दाबी छ।

प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा सो अवधिमा १३७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये केही मुद्दा अनुसन्धानकै क्रममा रहेका छन् भने हालसम्म ७१ हजार २४४ रुपैयाँ जरिवाना असुल गरिएको र ५ वर्ष ३ महिनाभन्दा बढी कैद सजाय कार्यान्वयन भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रणमा इलाकाले महत्वपूर्ण सफलता हासिल गरेको बताइएको छ। यस अवधिमा लागुऔषध ओसारपसारमा संलग्न १२ जना पक्राउ परेका छन् भने ४२६ केजी गाँजा तथा चरेस बरामद गरिएको छ। प्रहरीको निरन्तर निगरानी र कारबाहीका कारण इलाकाभर लागुऔषध कारोबार लगभग ‘जिरो’ अवस्थामा पुर्‍याउन सफल भएको दाबी गरिएको छ। निरीक्षक थापाको सक्रियताले धेरै युवाहरू गलत बाटोबाट फर्किएको स्थानीयको भनाइ छ। एक स्थानीय युवाले भने, “त्यस दिनदेखि मेरो जीवन नै परिवर्तन भयो। अहिले त्यो ठाउँ त जान त के, नाम सुन्न पनि मन लाग्दैन। युवाहरूले असल अभिभावक पाएका छौं।

यसैबीच इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा पहिलोपटक ठूलो मात्रामा गाँजा फडानी गरिएको छ। करिब १९ कठ्ठा क्षेत्रफलमा लगाइएको १४ हजार ८०० बोट गाँजा नष्ट गरिएको र त्यसयता हालसम्म इलाकामा पुनः गाँजा खेती भेटिएको छैन।

लागुऔषध नियन्त्रणकै क्रममा ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् भने २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। त्यस्तै ट्रमाडोल ९८६ ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन्। अवैध वन पैदावार तर्फ २०० फिट काठ बरामद गरिएको छ भने १६ वटा साइकल र २ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

अवैध गिटी, बालुवा र ढुङ्गा उत्खनन नियन्त्रणका क्रममा २६ वटा ट्याक्टर, १ वटा टिपर र १ वटा जेसिबी बरामद गरिएको प्रहरीले जनाएको छ। साथै विशेष सूचनाका आधारमा भन्सार छली भित्र्याइएका ६ लाख ६३ हजार २५६ रुपैयाँ बराबरका चिनी, कुखुरा, पटाका, कपडा तथा अवैध खाद्य सामग्री बरामद गरिएको छ।

ट्राफिक व्यवस्थापन र सार्वजनिक सुरक्षामा पनि प्रहरी निरीक्षक थापा आफैं सडकमा खटिएको देखिन्थ्यो। उनले ट्राफिक नियम पालना गराउने, हेल्मेटको बेल्ट लगाउन जनचेतना दिने, सर्प्राइज चेकिङ गर्ने तथा लाइसेन्स र ब्लुबुक जाँच गरेर ट्राफिक व्यवस्थापनलाई चुस्त बनाएको स्थानीयले बताएका छन्।

समुदाय–प्रहरी साझेदारी अन्तर्गत यस अवधिमा २४२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी करिब १३ हजार ५०० नागरिकलाई कानुन र सुरक्षासम्बन्धी विषयमा सचेत गराइएको छ। कार्यक्रमहरूमा लागुऔषध नियन्त्रण, महिला हिंसा, बालबालिका हिंसा, आत्महत्या न्यूनीकरण, आगलागी, ट्राफिक नियम, बहुविवाह नियन्त्रणलगायत विषय समेटिएका थिए। ‘विवाह बारी २० वर्ष पारी’ नारासहित सञ्चालन गरिएका कार्यक्रमहरूलाई समुदायले सकारात्मक रूपमा लिएको प्रहरीको भनाइ छ।

धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा समेत निरीक्षक थापा स्वयं खटिएर शान्ति–सुरक्षा कायम राख्दै कुनै पनि विवाद हुन नदिएको स्थानीयको भनाइ छ। सीमा जोडिएका सबै नाकामा उच्च निगरानी बढाइएपछि तस्करी गतिविधि उल्लेखनीय रूपमा घटेको र धेरै तस्करले कारोबार छोडेको तथा केही पलायन भएको स्थानीय तथा एक नाम नखोल्ने कारोबारीले बताएका छन्।

प्रहरी निरीक्षक थापाले नीतिविपरीत काम गर्नेलाई जोसुकै भए पनि कारबाही गरिने स्पष्ट पार्दै भने, म बस्दासम्म जिरो टोलरेन्समै काम हुन्छ। पछाडि को आउँछ म जान्दिन, तर मैले काम गर्न सक्ने आधार र अवसर छोडेर जानेछु।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको पछिल्लो ११ महिनाको कार्यप्रगतिले अपराध नियन्त्रण, तस्करी न्यूनीकरण, लागुऔषध नियन्त्रण र सामुदायिक सुरक्षामा उल्लेखनीय सुधार आएको देखिएको छ। प्रहरी र समुदायबीचको समन्वय तथा कडा निगरानीले आगामी दिनमा अझ सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ।