वीरगञ्ज, १ पुस। गत बुधबार समाचार संकलनका क्रममा पर्साको जीराभवानी गाउँपालिकामा पत्रकार शैलेश गुप्तामाथि दुव्र्यवहार भएको घटनाको विरोधमा प्रेस चौतारी नेपाल पर्साको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएको छ। टोलीले प्रमुख जिल्ला अधिकारी तोयानाथ दाहाललाई भेटी घटनाबारे जानकारी गराउँदै दोषी कर्मचारीमाथि अविलम्ब कारबाही गर्न माग गरेको हो।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अगुवाइमा पुगेको सञ्चारकर्मीहरूको टोलीले फेमस नेपाल सन्देश साप्ताहिक का प्रकाशक तथा प्रेस चौतारीका सदस्य शैलेश साह गुप्तामाथि जीराभवानी गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्र र इन्द्रजीत हजरा लगायतले अपशब्द प्रयोग गर्दै मोबाइल फोन खोस्ने र फोटो डिलिट गर्ने जस्ता अभद्र व्यवहार गरेको जानकारी प्रजिअलाई गराएको थियो।

यो पनि पढनुहोस

पर्साको जिराभवानी गाँउपालिका कार्यालयमै कर्मचारीहरुले पत्रकार गुप्तामाथि गरे दुव्यर्वहार

पत्रकार गुप्ताले कार्यालय समयमा कर्मचारीहरू अनुपस्थित रहेको अवस्था फोटो खिच्ने क्रममा उक्त दुव्र्यवहार भएको बताएका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी दाहालले सम्बन्धित कर्मचारीहरूलाई मौखिक आदेश दिँदै आउँदो मंगलबार बिहान ११ बजे सिसिटिभी फुटेजसहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन निर्देशन दिएका छन्। साथै, पत्रकारमाथि अभद्र व्यवहार गर्ने कर्मचारीमाथि कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता पनि प्रजिअ दाहालले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय पुगेको डेलिगेशनमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रसहित विजय (तुलसी) भण्डारी, किरण सत्याल, शैलेश गुप्ता, लक्ष्मी खरेल, राजन रौनियार, राजन सिंह, एस.के. चौरसिया, दिपेन्द्र बिसी, कन्हैया गुप्ता, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, विजय साहलगायतको सहभागिता रहेको थियो।

पत्रकार महासंघ पर्साको पनि आपत्ति

यसैबीच नेपाल पत्रकार महासंघ, पर्सा शाखाले पनि आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि भएको अभद्र व्यवहारको कडा भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ।

विज्ञप्तिमा नागरिकको सुसूचित हुने अधिकारको रक्षा गर्न सञ्चारकर्मी तथा सम्पूर्ण सञ्चार क्षेत्रको सुरक्षाप्रति सरोकारवाला निकाय संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याइएको छ।