वीरगञ्ज, १ पुस। पर्सा प्रहरीले वीरगञ्जबाट ठूलो परिमाणको लागू औषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १७६ किलो गाँजा र तस्करीमा प्रयोग गरिएको पिकअप भ्यानसहित एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–१ निवासी २८ वर्षीय सुवराज श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागू औषध तथा सवारी साधन सार्वजनिक गरेको हो।

प्रहरी निरीक्षक अमृत बस्नेतका अनुसार प्रहरी चौकी सिर्सियाबाट वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादवको नेतृत्वमा खटिएको टोलीले सोमबार राति करिब ८ बजे वीरगञ्ज–१७ कोनियास्थित सामुदायिक अस्पताल अलौदेखि कोनिया जाने ग्राभेल सडकखण्डमा सवारी चेकजाँच गरिरहेको थियो।

चेकजाँचका क्रममा बा २१ च ७८५५ नम्बरको पिकअप भ्यानलाई शंकास्पद ठानी रोकी खानतलासी गर्दा गाडीको पछाडिपट्टि परालले छोपेर लुकाइएका १२ वटा ठूला पोकाहरू फेला परेका थिए। ती पोकाहरू खोलेर जाँच गर्दा कुल १७६ किलो लागू औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको गाँजा, पिकअप भ्यान र चालक सुवराज श्रेष्ठलाई नियन्त्रणमा लिई थप कानुनी प्रक्रिया अघि बढाएको छ। गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्‍याउन लागिएको थियो भन्ने विषयमा गहिरो अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।