पर्सा, २ पुष। ललितपुर, प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्।

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सरकार अहोरात्र खटेर तयारीका कामलाई तीव्रता दिएको बताइन्। उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित रूपमा अघि बढाउने एक मात्र विकल्प निर्वाचन नै हो।”

कार्यक्रममा उनले नेपालकै जेठो स्थानीय तहको रूपमा रहेको ललितपुर महानगरपालिकाले १०७ वर्ष पूरा गरेको अवसरमा नगरवासी, जनप्रतिनिधि र कर्मचारीहरूलाई शुभकामना दिँदै ललितपुर उमेरले मात्र होइन, कला, संस्कृति र सम्पदाका दृष्टिले पनि जेठो सहर भएको उल्लेख गरिन्।

पाटनलाई नेपाली सभ्यता र सौन्दर्यको जीवित संग्रहालयका रूपमा चित्रण गर्दै प्रधानमन्त्री कार्कीले यहाँका मन्दिर, विहार, ढुंगेधारा, झ्याल–ढोका, टुँडाल, गजुर र तोरणहरूमा पुर्खाको सीप, श्रद्धा र सौन्दर्यचेत झल्किने बताइन्। बौद्ध र हिन्दू परम्पराको सहअस्तित्वले ललितपुरलाई ज्ञान, धर्म र सहिष्णुताको केन्द्र बनाएको उनको भनाइ थियो।

संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी दिएको उल्लेख गर्दै उनले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तह अझ बढी जवाफदेही हुनुपर्ने बताइन्। प्रधानमन्त्री कार्कीले ललितपुर महानगरपालिकाले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै अब्बल उदाहरण प्रस्तुत गरेको पनि उल्लेख गरिन्।