पर्सा २ पुष। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते (शुक्रवार) प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। यसका लागि उनले बुधबार प्रदेशसभा सचिवालयमा पत्र पठाउँदै दिउँसो ४ बजे विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) अनुसार मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। साथै, धारा १६८ (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले पदभार ग्रहण गरेको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक प्रावधान रहेको छ।

मुख्यमन्त्री यादव मङ्सिर १९ गते सात दलीय गठबन्धनको समर्थनमा नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त छ। नियुक्तिका बेला ७७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकार गठनको दाबी पेस गरिएको थियो।

यसअघि सर्वोच्च अदालतको आदेशपछि तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादव (एमाले) ले विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको थियो। सरोजकुमार यादव कात्तिक २४ गते ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर सात दलीय गठबन्धनले दायर गरेको रिटमा सर्वोच्च अदालतले विश्वासको मत लिन आदेश दिएपछि नयाँ सरकार गठन भएको हो।

विश्वासको मत प्राप्त नगरेसम्म मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पूर्ण रूपमा विस्तार गर्न सकेका छैनन्। हालसम्म लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी रानीकुमारी तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालय, माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, नेपाली काँग्रेसका जंगिलाल रायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एकीकृत समाजवादीका कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र जनमत पार्टीका महेशप्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

मधेस प्रदेशसभामा कुल १०७ सदस्य रहेका छन्। बहुमतका लागि ५४ सिट आवश्यक पर्ने भएकाले गठबन्धन कायम रहेमा मुख्यमन्त्री यादवले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ।