राजन कुमार बानिया/ पर्सा,३ पुष। पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ स्थित धोबिनीमा शिक्षकहरूका लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धी तीनदिने तालिम आजदेखि सुरु भएको छ।

धोबिनी गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त तालिम धोबिनीस्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ। तालिमको उद्घाटन वडा नं. ५ का वडाध्यक्ष मनौवर मियाँले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहान, विद्यालयका प्रधानाध्यापक जितेन्द्र राम, श्री कालिप्रसाद माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिओम पटेल, भिखमपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक विनय प्रसाद कुर्मी लगायत प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धी विषयमा प्रशिक्षक जगमोहन रौनियारले प्रशिक्षण दिनुभएको छ। सहायक प्रशिक्षक गोविन्द पटेलका अनुसार गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले शिक्षकहरूलाई IEMIS सम्बन्धी तालिम प्रदान गरिएको हो।

गाउँपालिका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहानले विद्यालयमा दिवा खाजा व्यवस्थापन, विद्यालय सुधार योजना, समयमै परीक्षा सञ्चालन, नयाँ शिक्षण विधि तथा समग्र विद्यालय व्यवस्थापनका विषयमा समेत तालिममार्फत जानकारी तथा पुनर्ताजगी गराइएको बताउनुभयो।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा धोबिनी गाउँपालिकाभरिका १८ वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ।