काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि मात्र रिहा हुने भएका छन्। नख्खु कारागार पुगेका रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले छुट पुर्जी नआएकाले आज रिहा हुन नसक्ने जानकारी दिएका हुन्।

ढकालका अनुसार जिल्ला अदालतबाट छुट पुर्जी भोलि मात्र आउने भएकाले लामिछाने भोलि कारागारबाट रिहा हुनेछन्। “छुट पुर्जी आवश्यक पर्ने र सो पुर्जी भोलि मात्र आउने हुँदा दाइ भोलि भैरहवामा गएर प्रक्रिया पूरा गरेपछि छुट्नु हुनेछ,” ढकालले बताए।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको थियो। बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेले दायर गरेको निवेदनअनुसार बिगो बराबरको धरौटी रकम बुझाएर छाड्न आदेश गरेको हो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेलाई धरौटीमा छाड्ने क्रममा अदालतले विभिन्न सर्तहरू समेत तोकेको जनाएको छ।