पर्सा। सानिमा बैंक लिमिटेडको पटेर्वा सुगौली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुई जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई उच्च माध्यमिक शिक्षा (कक्षा ११ र १२) अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।

बैंकको छात्रवृत्ति छनोट समितिको मिति २०८२/०९/०४ गते बसेको बैठकले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्यता पुगेका दुई विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको हो। छनोट हुने विद्यार्थीहरू सामुदायिक विद्यालयमा अध्ययनरत रहेका छन्।

छात्रवृत्तिका लागि छनोट हुने विद्यार्थीहरूमा , मकसुद मिया दर्जी (ने.रा.मा.वि., निचुटा) र श्रृष्टी कुमारी (दिपनारायण मा.वि., पचगावा) रहेका छन्।

छात्रवृत्ति अन्तर्गत विद्यार्थीहरूले कक्षा ११ र १२ को अध्ययन अवधि भरि आफूले रोजेको शैक्षिक संस्थामा लाग्ने सम्पूर्ण शिक्षण शुल्क, आवश्यक शैक्षिक सामग्रीका साथै जीवनयापनमा सहयोग स्वरूप मासिक रु. २,०००/- नगद भत्ता प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकले काठमाडौं उपत्यका बाहिरका शाखामार्फत आर्थिक रूपमा विपन्न, पिछडिएका, अपाङ्गता भएका तर शैक्षिक रूपमा अब्बल विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। छात्रवृत्तिका लागि सरकारी वा सामुदायिक विद्यालयबाट न्यूनतम ‘बी’ ग्रेड ल्याई एसईई उत्तीर्ण गरेको, सम्बन्धित जिल्लाको स्थायी बासिन्दा भएको र पारिवारिक अवस्था कमजोर तर जेहेन्दार हुनुपर्ने मापदण्ड तय गरिएको थियो।

छनोट प्रक्रिया तथा बैठक बैंकको प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रममा ने.रा.मा.वि. सुगौली दापका प्रधानाध्यापक रामशंकर प्रसाद राउत, पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बाशु पञ्जियार, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद प्रसाद यादव, वडा सदस्य सिता देवी थरुनी लगायतको उपस्थिति रहेको थियो।

बैंकका तर्फबाट शाखा प्रबन्धक उमेश चौरसिया, सहायक प्रबन्धक गणेश कुमार गुप्तासहित छात्रवृत्ति छनोट समितिका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

सानिमा बैंकले आर्थिक वर्ष २०६८/६९ देखि निरन्तर रूपमा काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखामार्फत हरेक वर्ष दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस अभियानले दुर्गम तथा ग्रामीण क्षेत्रका प्रतिभावान विद्यार्थीहरूलाई आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपर्ने वातावरण सिर्जना गरेको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बिपिन मुखियाले बताएका छन्।