काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। सम्पन्न मतगणनाअनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत पाएका छन्।

पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल अध्यक्ष पदमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन्। कुल २ हजार २ सय २७ मत खसेको निर्वाचनमा ११औँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए।

केपी शर्मा ओली यसअघि २०७१ सालमा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनबाट पहिलो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि २०७८ सालमा सौराहामा सम्पन्न महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष बनेका थिए। यद्यपि २०६५ सालमा बुटवलमा आयोजित आठौँ महाधिवेशनमा भने उनी झलनाथ खनालसँग पराजित भएका थिए।

तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएसँगै ओलीको नेतृत्वमा एमालेको आगामी राजनीतिक दिशा कस्तो रहने भन्ने विषयमा चासो बढेको छ।