वीरगञ्ज, ३ पुस। राजस्व छलेर भित्र्याइएको आशंकामा पर्सा प्रहरीले वीरगञ्जबाट करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको १८०० बोरा सुपारी बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका–२ स्थित बाइपास सडकमा व्यापारी निशान्त रोनावतको उद्योगको गोदाम तथा गोदामअगाडि रोकिराखिएका ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरका दुई कन्टेनरमा छापा मारेर सुपारी नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तेस्रो मुलुकबाट वीरगञ्ज भन्सार हुँदै आयात गरिएको सुपारी कागजातमा महोत्तरीको बर्दिवाससम्म लैजानुपर्ने देखिए पनि गन्तव्यमा नपु¥याई वीरगञ्जमै अनलोड गरी भण्डारण गरिएको विशेष सूचनाका आधारमा छापा मारिएको हो। प्रहरी उपरीक्षक सुदीपराज पाठकको नेतृत्वमा खटिएको टोलीले कन्टेनरबाट ९०० बोरा र गोदामभित्रबाट ९०० बोरा गरी कुल १८०० बोरा सुपारी बरामद गरेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा दुई जना चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामभरोस महरा (४१) र रामप्रसाद यादव (५१) रहेका छन्। कागजातमा अन्तिम गन्तव्य महोत्तरी देखिए पनि वीरगञ्जमै अनलोड गरिनुले राजस्व छल्ने तथा अवैध रूपमा भारत निर्यात गर्ने तयारी भएको आशंका गरिएको प्रहरीले जनाएको छ। बरामद सुपारी र दुवै कन्टेनरलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।