वीरगन्ज,४ पुष : जेनजी आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेका हिन्दुवादी नेता रन्जन सिंह राजपुत रिहा भएका छन्। अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराइएका बेला वीरगन्ज–१० रानीघाट निवासी ४१ वर्षीय राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सरकार र जेनजी प्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झौताका आधारमा जेनजी आन्दोलनमा सहभागी भएकै कारणले थुनामा राख्न नमिल्ने व्यवस्था रहेको भन्दै आवश्यक परे बयानका लागि पुनः बोलाउने शर्तमा राजपुतलाई जिम्मा जमानीमा रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।

मेयर सिंहको निजी निवासमा भदौ २४ गते आगजनी भएको घटनामा संलग्न रहेको आरोप लगाउँदै मेयर सिंहले राजपुतसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि पर्सा जिल्ला अदालतले राजपुतसहितका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही क्रममा अनुसन्धानका लागि बिहीबार उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पाठकले बताए।

बेलुकी करिब ७:२० बजे राजपुतलाई रिहा गरिएपछि प्रहरी उपरीक्षक पाठकले नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताअनुसार उनलाई रिहा गरिएको स्पष्ट पारे। उनले सम्झौतामा प्रहरी हिरासतमा नराखी बयान लिनुपर्ने उल्लेख भएकाले कानुनी प्रक्रियाअनुसार रिहा गरिएको बताए। साथै, राजपुतविरुद्धको मुद्दा कायम नै रहेको र आवश्यक परे पुनः बयानका लागि बोलाउन सकिने पनि उनले जानकारी दिए।

यसअघि बिहीबार दिउँसो जेनजी तथा हिन्दुवादी युवाहरूले राजपुतको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि टायर बालेर प्रदर्शन गरेका थिए। राजपुत निर्दोष रहेको दाबी गर्दै उनीहरूले तत्काल बिना सर्त रिहा नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए।