काठमाडौं,४ पुष : नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सुशीला कोइरालाको नेतृत्वमा रहेको सरकार चुनावको तयारी गर्न असफल भएमा पद छोड्नुपर्ने बताएका छन्। भृकुटीमण्डपमा सम्पन्न सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

यो सरकारले निर्वाचन गराउन सक्छ भने गराओस्, नसक्ने हो भने बाटो खाली गर्नु राम्रो हुन्छ,’ अध्यक्ष ओलीले भने। देश गम्भीर संकटतर्फ गइरहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दलहरूलाई एकताबद्ध हुन आग्रहसमेत गरे।

संविधान खारेज गर्ने आवाज उठ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै ओलीले राजनीतिक दलहरू अझ जिम्मेवार बन्नुपर्ने बताए। ‘संविधान विरोधी शक्तिहरू सक्रिय छन्। उनीहरू संविधान नै समाप्त गर्ने कुरा गरिरहेका छन्। त्यसको प्रतिवाद गर्न सबै दलहरू एउटै ठाउँमा उभिनु जरुरी छ,’ उनले स्पष्ट पारे।

उनले संविधानमा आवश्यक संशोधन गर्न सकिने भए पनि संविधान खारेज गर्ने कुरा असम्भव रहेको धारणा व्यक्त गरे।