पर्सा, ४ पुष। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सखुवा प्रसौनी गाउँपालिकामा आफ्नो पहिलो पालिका भेलालाई भव्य र आकर्षक रूपमा सम्पन्न गरेको छ। भेलाको मुख्य उद्देश्य स्थानीय पार्टी संगठनलाई मजबुत बनाउने र आगामी निर्वाचनमा प्रभावशाली सहभागिता सुनिश्चित गर्नु रहेको बताइएको छ।

भेलामा सर्वसम्मत रूपमा नयाँ नौ सदस्यीय पालिका कार्यसमिति चयन गरिएको छ। कार्यसमितिका पदाधिकारी र सदस्यहरू यस प्रकार रहेका छन्: सभापति शम्भु प्रसाद यादव, उपसभापति सञ्चिता बुढाथोकी, सचिव अफजल हुसैन, कोषाध्यक्ष प्रभु प्रसाद महतो, सहसचिव जनक राज कँडेल तथा सदस्यहरू विरा महतो, अशेशोर साह तेली, निरञ्जन राउत र भोला राउत कुर्मी।

भेलामा मुख्य वक्ताका रूपमा उपस्थित रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तले पछिल्लो समय नेपाली राजनीति क्षेत्रमा विकसित भएको नयाँ चेतना र ‘जेनजेड (Gen Z) विद्रोह’लाई औँल्याउँदै पुराना राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको दाबी गर्नुभयो। उहाँले भाद्र २३ र २४ का घटनाक्रमलाई उदाहरणसहित उल्लेख गर्दै भन्नुभयो, “नेपाली राजनीतिमा काँग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरूको अस्तित्व र प्रभावकारिता समाप्त भएको संकेत स्पष्ट देखिएको छ। यस परिस्थितिले वैकल्पिक शक्तिका रूपमा रास्वपाको महत्वलाई अझ प्रष्ट र बलियो बनाएको छ।”

उहाँले आगामी निर्वाचनमा पार्टीलाई भारी मतले विजयी गराउन स्थानीय जनता, युवाहरू र मतदाताहरूसँग सक्रिय सहयोग र समर्थनको अपील समेत गर्नुभयो।

कार्यक्रममा रास्वपा उपसभापति तुलसा पौडेल, साथै नेताहरू अमन आलम, सबबु कँडेल, महेन्द्र दास र सोनालाल पटेलले पार्टीको संगठन विस्तार, युवा सहभागिता, सुशासन र विकासमुखी नीतिमा जोड दिनुभएको थियो।

भेलाको सहजीकरण रास्वपा क्षेत्रीय सभापति मनोज कुर्मीको सभापतित्वमा सम्पन्न भएको थियो। कृष्णा पासवानले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। पहिलोपटक सखुवा प्रसौनीमा सम्पन्न उक्त पालिका भेलाले स्थानीय स्तरमा पार्टीको संगठनलाई थप सक्रिय र सशक्त बनाउने विश्वास जगाएको छ।

स्थानीय राजनीतिक विश्लेषकहरूले यस भेलालाई रास्वपाले ग्रामीण तहमा आफ्नो उपस्थितिलाई मजबुत बनाउने रणनीतिक पहलका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, युवापुस्ताको सक्रिय सहभागिता र वैकल्पिक राजनीतिक विकल्पप्रति आकर्षणले आगामी निर्वाचनमा राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने सम्भावना रहेको छ।