हरिकिशोर शर्मा पुष ४, पर्सा। पर्साको सुवर्णपुरमा रहेको ज्ञानवाटिका माध्यमिक विद्यालयमा रु ५५ लाख लागतमा थप चारकोठे पक्की भवन निर्माण हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ठोरी गाउँपालिकाको लागत साझेदारीमा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको उक्त भवनको शुक्रबार ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षमा गाउँपालिकामा विनियोजन भएको एकमात्र विद्यालय भवन ज्ञानवाटिका माविमा निर्माण हुन लागेको जानकारी दिनुभयो। विद्यालयमा अतिरिक्त कक्षाकोठा, पुस्तकालय तथा प्रयोगशालाका लागि कोठाको अभाव देखिएकाले ज्ञानवाटिका माविलाई छनोट गरिएको उहाँले बताउनुभयो। कक्षा १२ सम्म सञ्चालन भइरहेको विद्यालयमा भवन अभावकै कारण विभिन्न प्रयोगशाला र पुस्तकालय सञ्चालन हुन नसकेको उहाँको भनाइ छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र नेवारका अनुसार दुईतल्ले भवनमा दुई–दुईवटा कक्षाकोठा निर्माण गरिनेछ। आगामी जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुसको पहिलो सातादेखि नै निर्माण कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो। व्यवस्थापन समितिको प्रत्यक्ष रेखदेखमा प्राविधिक मापदण्डअनुसार गुणस्तरीय भवन निर्माण गरिने अध्यक्ष नेवारले बताउनुभयो।

शिलान्यास कार्यक्रममा जीराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास, ठोरी गाउँपालिकाका कार्यपालिका सदस्य मेघराज सुनुवार, ठोरी गाउँपालिका शिक्षा प्रमुख भूपाल जोशी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय अगुवा अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।