पर्सा,५ पुष । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। जगरनाथपुर–५ स्थित मसिहानको चौरमा आयोजित प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले पानसमा बत्ती बालेर गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले चिसो मौसमका बाबजुद पनि विद्यार्थीहरू खेलप्रति उत्साहका साथ सहभागी भएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले खेलकुद शारीरिक व्यायाम मात्र नभई स्वास्थ्यका लागि औषधि सरह हुने उल्लेख गर्दै शिक्षासँगै खेलकुद पनि विद्यार्थी जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो। “खेलकुदले शरीर स्वस्थ राख्नुका साथै जीवनमा फुर्तिलोपन र अनुशासन विकास गर्छ,” उहाँले भन्नुभयो। साथै उहाँले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्दै सफलता हासिल गर्न प्रेरित गर्नुभयो।

गाउँपालिका अध्यक्ष यादवका अनुसार पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जगरनाथपुर गाउँपालिका अन्तर्गतका १६ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवका अनुसार प्रतियोगितामा हाई जम्प, लङ जम्प, दौड लगायत विभिन्न खेल विधाहरू समावेश गरिएको छ। प्रतियोगिता वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता सिंह, नेपाली काँग्रेस पर्साका जिल्ला कोषाध्यक्ष प्रेम थापा, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, लेखापाल सन्देश कुशवाहा, वडाध्यक्षहरू सुबास यादव, लक्ष्मी साह, नेपाली कुशवाहा, प्रभु महतो, शिक्षा शाखा प्रमुख अशोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, इन्जिनियर सादाम हुसेन, मञ्जय गिरी, पालिका सदस्यहरू, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, वडा सदस्यहरू, स्थानीयबासी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

खेलकुद कार्यक्रममा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १६ वटै विद्यालयका विद्यार्थीहरूले आफ्ना–आफ्ना विद्यालयका ब्यानर सहित आकर्षक मार्चपास प्रस्तुत गरेका थिए। साथै छात्राहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हाई जम्प, लङ जम्प, दौड लगायतका विभिन्न खेलहरू सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ। प्रतियोगिता भोलिसम्म सञ्चालन हुने जनाइएको छ।