पर्सा,५ पुष । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रवार थुनामुक्त भएका छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएपछि शुक्रवार रुपन्देही जिल्ला अदालतमा आवश्यक प्रक्रिया पूरा गरी उनलाई मुक्त गरिएको हो ।

रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका छन् । यसमा यसअघि जिल्ला अदालतले तोकेको १ करोड धरौटी रकम र बिगो बराबरको थप जमानत समावेश छ ।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको थुनामा राख्ने आदेश बदर गर्दै बैंक ग्यारेन्टी स्वीकार गरी तारेखमा रिहा गर्न निर्देशन दिएको थियो । आदेशमा विदेश जानुपरे अदालतलाई पूर्व जानकारी दिनुपर्ने र मुद्दाको अन्तिम फैसलाबाट थप दायित्व सिर्जना भए वहन गर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने सर्त राखिएको छ ।

मौसम खराबीका कारण काठमाडौँबाट भैरहवातर्फको उडान रद्द भएपछि लामिछानेलाई शुक्रवार दिउँसो विमानमार्फत भरतपुर लगिएको थियो । त्यसपछि सडक मार्ग हुँदै रुपन्देही पुर्‍याइएका उनी अदालतको कार्यालय समय सकिएपछि पुगे पनि आवश्यक प्रक्रिया अघि बढाइएको थियो । “उहाँ आउनु अघि नै कागजात तयार पारिएका थिए, सहीछाप भएपछि थुनामुक्त गरियो,” तहसिलदार पौडेलले बताए ।

अदालतबाट बाहिरिएपछि समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले न्यायको लडाइँ अझै जारी रहेको बताए । “म आफ्ना लागि मात्र होइन, देशका लागि लडिरहेको छु । देशमाथि भएको अन्यायका अगाडि ममाथिको अन्याय सानो हो । हिसाब मिलाउन र न्याय पाउन बाँकी नै छ,” उनले भने ।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा लामिछाने रिहा भएसँगै पार्टीको मूल जिम्मेवारीमा फर्किने उल्लेख गरिएको छ । पार्टी प्रवक्ता मनीष झाका अनुसार लामिछाने रुपन्देहीबाट चितवन पुगेका छन् । आज चितवनमा सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमपछि मात्रै काठमाडौँ फर्कने उनको योजना छ ।

यसअघिको घटनाक्रम

यसअघि रुपन्देही जिल्ला अदालतले माघ १३ गते लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर सरकारी वकिलको निवेदनपछि उच्च अदालतले उक्त आदेश बदर गर्दै थुनामा राख्ने निर्णय गरेको थियो । चैत २२ गते उच्च अदालतको आदेशपछि उनी पुनः थुनामा परेका थिए । साउन ३१ मा रुपन्देही कारागारबाट नख्खु कारागार स्थानान्तरण गरिएका उनी लामो समय हिरासतमा थिए ।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीसहित काठमाडौँ, चितवन, पोखरा लगायत विभिन्न स्थानका सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन छन् । यद्यपि यस मुद्दामा धरौटीमा रिहा भएसँगै उनी पुनः पार्टी नेतृत्वमा सक्रिय हुने भएका छन् ।

उनको रिहाइले रास्वपाको आगामी राजनीतिक गतिविधिमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।