काठमाडौँ,५ पुष । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले–कांग्रेस गठबन्धन सरकार पतन भएको थियो। त्यसपछि जेनजी युवाहरूको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

सरकार गठनको १०० दिन पुगेको अवसरमा शनिबार प्रधानमन्त्री कार्कीले देशवासीका नाममा सम्बोधन गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन कुनै हालतमा नरोकिने स्पष्ट पारेकी छन्। उनले चुनाव सार्ने वा रोक्ने हल्लाहरूलाई पूर्णतः निराधार र भ्रमपूर्ण भन्दै सरकारले तोकिएको समयमै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने दृढ संकल्प लिएको बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “फागुन २१ को निर्वाचन अब केवल कार्यतालिका मात्र होइन, यो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो। अराजकता समाधान होइन, लोकतान्त्रिक प्रक्रियामार्फत निकास खोजिनुपर्छ।”

जेनजी आन्दोलनको सन्दर्भ उल्लेख गर्दै उनले सडक आन्दोलनले प्रश्न उठाए पनि समाधान मतपत्रबाट आउने बताइन्। विशेषगरी युवाहरूलाई लक्षित गर्दै उनले आन्दोलनको आक्रोश र सपनालाई भोटमार्फत व्यक्त गर्न आग्रह गरिन्। “चुनाव कसैको हार–जितभन्दा माथि छ, यो लोकतन्त्र र राष्ट्रियताको जित हो,” उनको भनाइ थियो।

सुरक्षाका विषयमा प्रधानमन्त्रीले सरकार पूर्ण रूपमा तयार रहेको दाबी गरिन्। एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको र आवश्यक परे नेपाली सेनाको परिचालनसमेत सुनिश्चित गरिएको उनले जानकारी दिइन्। आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद भइसकेको, क्षतिग्रस्त प्रहरी कार्यालयहरू पुनः सञ्चालनमा ल्याइएको र सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाइएको उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले १०० दिनको अवधिमा सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध कठोर कदम चालेको दाबी पनि गरिन्। विगतमा दबाइएका फाइलहरू खोलिएको र शक्तिशाली व्यक्ति भए पनि कानुनको दायराबाट कोही नछुट्ने स्पष्ट सन्देश दिइएको बताइन्। मापदण्डविपरीत प्रयोग भइरहेका सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरिएको, अनावश्यक कार्यालय खारेज गरिएको र दरबन्दी कटौती गरिएको जानकारी पनि उनले दिइन्।

उनका अनुसार बजेटको पुनःप्राथमिकिकरण गर्दै १ खर्ब १९ अर्ब रुपैयाँ विकास आयोजनातर्फ सारिएको छ भने ‘हेलो सरकार’मार्फत हजारौँ गुनासाहरू समाधान गरिएको छ। मेलम्चीको पानी नियमित आपूर्ति र विद्युत् उत्पादनमा थप मेगावाट जोडिएको उपलब्धिसमेत उनले उल्लेख गरिन्।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय एकता, शान्ति र स्थिरताका लागि सबैलाई एकजुट हुन आह्वान गरिन्। “अराजकताले कसैलाई खुसी दिँदैन, शान्ति र स्थिरताले मात्र समृद्धिको ढोका खोल्छ,” भन्दै उनले फागुन २१ को निर्वाचनलाई परिवर्तनको ढोका खोल्ने राष्ट्रिय अवसरका रूपमा सफल बनाउन सबै नेपालीलाई आग्रह गरिन्।