वीरगन्ज, ६ पुस । वीरगन्जबाट प्रहरीले फेरि ठूलो मात्रामा लागू औषध चरेस बरामद गरेको छ । एक साताअघि मात्रै १७६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले यसपटक २४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार शनिबार राति वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुर क्षेत्रमा सवारी साधनको नियमित चेकजाँच भइरहेको थियो । सोही क्रममा मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्दा ट्रकको क्याबिनमाथि फल्स बटम बनाएर लुकाइएका १३६ प्याकेटमा २४० केजी चरेस फेला परेको हो ।

चरेस बरामद भएपछि प्रहरीले ट्रक चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ का २९ वर्षीय सरोज मोक्तान र ट्रकमै सवार सोही स्थानका २१ वर्षीय नवराज लोला लाई पक्राउ गरेको छ ।

बरामद चरेस र ट्रकसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिएका छन् ।