पर्सा,६ पुष। पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा हालै सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले आइतबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

संघीय सरकारअन्तर्गत सामान्य प्रशासन मन्त्रालयले गत मंगलबार देशभरका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको थियो। सोही सरुवाअन्तर्गत कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरीलाई जिराभवानी गाउँपालिकामा र जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरिएको हो।

तर जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले आफ्नो सहमति र इच्छाविपरीत सरकारले गिरीलाई पठाएको दाबी गर्दै एक प्रेस विज्ञप्ति जारी गरी गिरीलाई कार्यालयमा हाजिर गर्न नदिने अडान लिएका थिए।

अध्यक्ष चौधरीको असहमति हुँदाहुँदै पनि गाउँपालिकाका सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आइतबार गाउँपालिका कार्यालयमा गिरीको भव्य स्वागत गरेका थिए। वडाध्यक्षहरू महादेव प्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य, वडा सदस्य, लेखा तथा प्राविधिक शाखाका कर्मचारीहरू लगायत विभिन्न वडाका कर्मचारीहरूले फुलमालासहित गिरीलाई स्वागत गरेपछि उनले कार्यभार सम्हालेका हुन्।

गाउँपालिका अध्यक्ष चौधरीले आफ्नो असन्तुष्टि विधिसम्मत रूपमा सम्बन्धित मन्त्रालयमा राख्नुको साटो पुस ३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आक्रोश व्यक्त गरेका थिए। उनले सरकारको सरुवा निर्णय खारेज गरी आफ्नो सहमतिमा मात्रै अन्य अधिकृत पठाउन आदेशात्मक आग्रहसमेत गरेका थिए। अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी मन्त्रालयकै हुने चेतावनीसमेत उनले दिएका थिए।

गत मंसिर १५ गते जिराभवानी गाउँपालिकामा गाउँकार्यपालिका (बोर्ड) बैठक बसेको थियो। अध्यक्ष चौधरीले एक वर्षभन्दा बढी समय बैठक नबोलाएपछि अध्यक्ष बाहेक बसेको उक्त बैठकले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जनप्रतिनिधिको कुरा नसुनेको, लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको र यसले गाउँपालिकाको कामकाज प्रभावित भएको निष्कर्ष निकालेको थियो। बैठकले कुशवाहालाई अन्यत्र सरुवा गरी अमित गिरीलाई जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाउन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार मन्त्रालयले राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरी अमित गिरीलाई जिराभवानी गाउँपालिकामा पठाएको हो।

उल्लेखनीय छ, गिरी यसअघि पनि करिब डेढ वर्षअघि जिराभवानी गाउँपालिकामै प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिए। त्यतिबेला अध्यक्ष चौधरीले अनुचित आर्थिक लाभका काम गर्न दबाब दिएको तर गिरीले अस्वीकार गरेपछि उनीहरूबीच मतभेद चर्किएको र त्यसकै कारण अहिले पनि अध्यक्षले गिरीप्रति असन्तुष्टि राखेको बताइन्छ।