पर्सा, ८ पुस: जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा बढ्दै गएको चिसो र शीतलहरको प्रभावबाट जोगिन सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

पछिल्ला केही दिनयता तापक्रम घट्दै जानुका साथै बाक्लो हुस्सु लाग्न थालेकाले यसबाट विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, सीमान्तकृत वर्ग तथा विपन्न समुदाय बढी प्रभावित हुन सक्ने भन्दै प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो।

बढ्दो चिसो र शीतलहरका कारण जनस्वास्थ्य, पशुपन्छी तथा दैनिक जनजीवनमा नकारात्मक असर पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा चिसोबाट बच्न न्यानो कपडा लगाउने, अत्यधिक चिसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कने, सुत्दा सिरक–कम्बल प्रयोग गरी छाती र टाउको ढाक्ने तथा तातो पानी र पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न सुझाव दिइएको छ।

त्यसैगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा बिरामीको विशेष हेरचाह गर्न र ज्वरो, खोकी, दम बढ्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जान आग्रह गरिएको छ।

साथै आगो ताप्दा वा विद्युतीय हिटर प्रयोग गर्दा कोठामा पर्याप्त हावापास हुने व्यवस्था मिलाउन, सुत्नुअघि आगो निभाउने र विद्युतीय उपकरण बन्द गर्नसमेत प्रशासनले सचेत गराएको छ।