पर्सा,८ पुष – नारायणी अस्पतालको ऐश्वर्य प्रसूति गृहमा रहेको एनआईसीयु (NICU) वार्डमा मंगलबार साँझ आगलागी भएको छ। प्रहरी र अस्पताल स्रोतका अनुसार आगो लाग्दा मानवीय क्षति भने भएको छैन।

प्रारम्भिक जानकारीअनुसार, एनआईसीयु वार्डमा जडान गरिएको एसीको विद्युतीय तार सर्ट हुँदा आगो लागेको अनुमान गरिएको छ। आगलागीले एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसी मात्रै जलेर नष्ट भएको अस्पतालका चिकित्सक डा. दीपक चौरसियाले बताए।

डा. चौरसियाका अनुसार, मंगलबार साँझ साढे ४ बजेतिर आगो लाग्ने बित्तिकै अस्पतालका कर्मचारीहरूले विद्युत् आपूर्ति काटेर ठूलो दुर्घटना हुनबाट जोगाएका थिए। उनले भने, “आगो लाग्दा हामीले अस्पतालमा रहेको फायर ग्यास सिलिन्डरको प्रयोग गरी आगो निभाउन सफल भयौं।”

वीरगञ्ज महानगरपालिकाबाट दमकल आइपुगे पनि त्यसको आवश्यकता परेन। त्यस्तै, एनआईसीयु वार्डमा आगो लाग्दा कुनै बिरामी बच्चा भित्र थिएनन्।