पर्सा,८ पुष। विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत पुगेका नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको सूचीमा पर्सा जिल्लाबाट दुई जना सांसद पनि समावेश भएका छन्।

मंगलबार सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउने कांग्रेसका निवर्तमान सांसदहरूमध्ये पर्सा निर्वाचन क्षेत्र नम्बर २ का अजयकुमार चौरसिया र पर्सा क्षेत्र नम्बर ४ का रमेश रिजाल रहेका छन्। दुवै जना यसअघि मन्त्रीसमेत भइसकेका नेता हुन्।

यसअघि गत मंसिर २३ गते कांग्रेसका ८ जना निवर्तमान सांसदले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। मंगलबार चौरसिया र रिजालसहित थप ५७ जना सांसदको हस्ताक्षरसहित पुनः रिट दर्ता गरिएको हो।

यसअघि नेकपा एमालेका ७५ जना सांसदहरूले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाइसकेका छन्। एमालेले मंसिर १० गते संस्थागत रूपमा रिट दर्ता गरेको थियो भने कांग्रेसका सांसदहरूले मंसिर २३ गतेदेखि व्यक्तिगत हस्ताक्षरका आधारमा रिट प्रक्रिया अघि बढाएका हुन्।

हाल एमाले र कांग्रेसका सांसदहरूको हस्ताक्षर संख्या जोड्दा १४३ पुगेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्ने भएकाले बहुमत सांसदको समर्थन प्राप्त भएको दाबी गरिएको छ।

एमालेले संसदीय दलको निर्णयअनुसार रिट दायर गरे पनि कांग्रेसको हकमा भने सांसदहरूले व्यक्तिगत रूपमा हस्ताक्षर गरेर रिट दर्ता गरेका छन्।

बहुमत सांसदको मागपछि प्रतिनिधि सभा पुनर्स्थापनाबारे सर्वोच्च अदालतलाई निर्णय गर्न सहज हुने कांग्रेस र एमालेको बुझाइ छ। अदालतलाई फैसला गर्न पर्याप्त आधार तयार पार्ने उद्देश्यले बहुमत सांसदको हस्ताक्षर बुझाइएको उनीहरूको भनाइ छ।

रिट निवेदनमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछिको घटनाक्रमलाई उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको प्रक्रिया असंवैधानिक भएको दाबी गरिएको छ। उक्त नियुक्ति खारेज गरी संसद्भित्रैबाट प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन परमादेश जारी गर्न माग गरिएको छ।