पर्सा,९ पुष। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनकै निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेको खुलासा भएको छ ।

बालेन निकट स्रोतहरूका अनुसार उनले पटक–पटक ओलीलाई पराजित नगरी चुनाव जित्नुको अर्थ नहुने टिप्पणी गर्दै आएका छन् । ओलीसँगको पुरानो राजनीतिक टकरावकै कारण झापा–५ बाट उम्मेदवारी दिने चाहना बालेनमा देखिएको बताइन्छ ।

ओली नेतृत्वको सरकारले गरेका विभिन्न निर्णयहरूप्रति बालेनले खुलेर विरोध जनाउँदै आएका छन् । गिरिबन्धु टी–इस्टेट प्रकरणदेखि नीतिगत भ्रष्टाचारका मुद्दासम्म बालेनले ओलीलाई सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए । ओली प्रधानमन्त्री रहँदा पनि बालेनको आलोचना निरन्तर रहँदा दुवैबीचको सम्बन्ध चिसिँदै आएको थियो ।

यही पृष्ठभूमिमा ओलीविरुद्धको सम्भावित चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत द्वन्द्व मात्र नभई वैकल्पिक राजनीतिक धारको प्रतीकका रूपमा हेरिएको छ ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको लामो छलफलपछि बालेनको राष्ट्रिय राजनीतिप्रतिको चासो अझ बढेको स्रोतको दाबी छ । उक्त भेटमा बालेनले रवि लामिछानेसँगै ओलीविरुद्ध झापा–५ बाट उम्मेदवारी दिने सम्भावनाबारे खुलेर छलफल गरेको बताइएको छ ।

झापा–५ ओलीको बलियो गढ मानिन्छ । उनी पटक–पटक यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । यस्तो अवस्थामा बालेनले सोही क्षेत्रबाट उम्मेदवारी दिएमा देशकै सबैभन्दा चासोको विषय बन्ने ‘हाइ–प्रोफाइल फेस अफ’ हुने विश्लेषण गरिएको छ । बालेनको स्थायी ठेगाना भने काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ हो ।

तर बालेन अझै पनि काठमाडौँ महानगरको कार्यकाल पूरा गर्ने कि राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने भन्ने विषयमा अन्योलमै देखिन्छन् । निकट स्रोतहरूका अनुसार उनले कहिले चुनाव लड्ने संकेत गर्छन् भने कहिले महानगरमै केन्द्रित रहने बताएका छन् । तर देशका लागि ठूलो भूमिका खेल्नुपर्छ भन्ने साथीहरूको आग्रहले उनलाई प्रभाव पारेको बुझिन्छ ।

रास्वपा नेताहरूका अनुसार रवि लामिछाने आफ्ना कानुनी कारणले प्रधानमन्त्री बन्न नसक्ने अवस्थामा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्न इच्छुक छन् । यदि रविले मुद्दाबाट सफाइ पाएमा भने बालेनले उनको नेतृत्व स्वीकार गर्न सक्ने संकेत पनि देखिएको छ ।

त्यसैगरी बैठकमा उज्यालो नेपाल पार्टीका संस्थापक तथा वर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङसँगको सम्भावित सहकार्यबारे पनि छलफल भएको स्रोतको भनाइ छ । रास्वपासँग तत्काल पार्टी एकीकरण सम्भव नभए पनि रविको रिहाइपछि घिसिङसँग संवाद पुनः सुरु भएको बताइएको छ ।

बालेनको सम्भावित कदमले परम्परागत राजनीतिक दलहरूमा तरङ्ग ल्याएको छ । ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट चुनौती दिनु वैकल्पिक राजनीतिक शक्तिको उदयको सशक्त सन्देश हुने विश्लेषकहरू बताउँछन् । अब बालेनले अन्ततः के निर्णय गर्छन् भन्ने चासो सबैमा रहेको छ ।