पर्सा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता दिपेश साहको नाम सिफारिस गरिएको छ। राप्रपाको स्थानीय तथा क्षेत्रीय तहको बैठकले साहलाई आगामी निर्वाचनका लागि उपयुक्त उम्मेदवार ठहर गर्दै केन्द्रमा नाम सिफारिस गरेको हो।

पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै संगठन निर्माणमा अग्रपंक्तिमा योगदान दिँदै आएका दिपेश साह युवामाझ लोकप्रिय तथा स्पष्ट विचारधारा भएका नेताका रूपमा परिचित छन्। पार्टी स्रोतका अनुसार पर्सा–३ मा संगठन विस्तार, जनसम्पर्क तथा विचार प्रवाहमा उनको भूमिका प्रभावकारी रहँदै आएको छ। यही योगदानको मूल्यांकन गर्दै उनको नाम सिफारिस गरिएको जनाइएको छ।

दिपेश साहले राष्ट्रवाद, सुशासन, सांस्कृतिक पहिचान र युवाको सहभागितालाई प्राथमिकता दिँदै आएका छन्। उनी स्थानीय समस्या समाधान, रोजगारी सिर्जना तथा विकास निर्माणका मुद्दामा केन्द्रित भएर राजनीतिमा सक्रिय छन्। पार्टी नेतृत्वले पर्सा–३ मा राप्रपाको आधार अझ मजबुत बनाउन युवा नेतृत्व आवश्यक रहेको ठहर गर्दै साहलाई अगाडि सारेको बुझिएको छ।

नाम सिफारिस भएसँगै पर्सा–३ मा राजनीतिक गतिविधि थप चर्किने संकेत देखिएको छ। स्थानीय कार्यकर्ताहरूले साहको सिफारिसलाई सकारात्मक रूपमा लिँदै उत्साह प्रकट गरेका छन्। उनीहरूका अनुसार साह उम्मेदवार बनेमा पर्सा–३ मा राप्रपाको उपस्थितिलाई थप बल पुग्ने विश्वास छ।

अन्तिम उम्मेदवार चयन भने पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार हुने जनाइएको छ। केन्द्रबाट अनुमोदन भएमा दिपेश साह पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।