पर्सा, ९ पुस। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंस्थित केन्द्रीय कारागार (सुन्धारा जेल) बाट फरार भएका बारा जिल्ला घर भएका दुई जना कैदीलाई प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामध्ये कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ का २५ वर्षीय सुदामा पासवान रहेका छन् भने अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि बैंकिङ कसूर मुद्दामा कारागार चलान भएका बारा कै परवानीपुर गाउँपालिका–२ का ३२ वर्षीय विवेकलाल साह रहेका छन्।

कारागारबाट फरार भएपछि लुकिछिपी बस्दै आएका पासवानलाई वीरगन्ज महानगरपालिका–१५ भिस्वाबाट मंगलबार राति पक्राउ गरिएको हो। त्यसैगरी साहलाई वीरगन्ज महानगरपालिका–४ वीर्ताबाट मंगलबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई बुधबार वीरगन्ज कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।