काठमाडौँ । स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान) वितरण गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। आन्तरिक राजस्व विभागका करदाता सेवा कार्यालयहरू खारेज गर्ने सरकारी नीति कार्यान्वयन गर्ने क्रममा सेवा स्थानीय तहमै पुर्‍याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।

यसै क्रममा मोरङको केराबारी गाउँपालिकाले बुधबार पहिलो पटक व्यावसायिक तथा व्यक्तिगत प्यान नम्बर वितरण गरेको छ। विभागका अनुसार केराबारी गाउँपालिकाबाट ‘दि भ्वाइस क्याफे एण्ड रेष्ट्रो’ लाई व्यावसायिक तथा चित्रकुमार तामाङलाई व्यक्तिगत प्यान नम्बर प्रदान गरिएको हो।

अर्थमन्त्रीको उपस्थितिमा केराबारी गाउँपालिका र आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुखबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै करदाता सेवा कार्यालयले गर्दै आएका कार्यहरू गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

स्थानीय तहबाटै करदाता सेवा उपलब्ध हुन थालेपछि उद्योगी, व्यवसायी, करदाता तथा अग्रिम आयकर कट्टी (टीडीएस) दाखिला गर्ने निकायहरूका लागि सेवा थप सहज, सरल र पहुँचयोग्य हुने आन्तरिक राजस्व विभागले जनाएको छ।

विभागले कर सेवा प्रवाहलाई प्रविधिमैत्री र विकेन्द्रीकृत बनाउँदै करदाताको नजिक पुर्‍याउने नीति लिएको उल्लेख गर्दै सेवा प्रवाहको वैकल्पिक व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नभएसम्म सम्बन्धित करदाता सेवा कार्यालयहरूबाट पनि नियमित सेवा सुचारु रहने स्पष्ट पारेको छ।

मन्त्रिपरिषद्को गत १७ कात्तिकको निर्णयअनुसार करदाता सेवा कार्यालयहरू खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो। हाल कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लिने लगायतका धेरै सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध छन्। सभार:टेकपानाडटकम