बारा, ९ पुस । मधेश प्रदेश सरकार अन्तर्गत रहेको मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामको आयोजनामा बाराको कलैया स्थित राज कर्ण होटल एण्ड पार्टी प्यालेसमा ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक एकदिवसीय गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ।

प्रदेशस्तरमा सञ्चार क्षेत्रले भोग्दै आएका समस्या, चुनौती र सम्भावनाहरूमाथि गम्भीर छलफल गर्ने उद्देश्यले आयोजना गरिएको उक्त गोष्ठीमा बारा र पर्सा जिल्लाका ५० भन्दा बढी सञ्चार माध्यमका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। गोष्ठीमा सहभागी सञ्चारकर्मीहरूले स्थानीय तथा प्रादेशिक तहमा मिडियाले सामना गरिरहेका आर्थिक, प्राविधिक, कानुनी र नीतिगत समस्याहरूबारे खुलेर धारणा राखेका थिए।

मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय गान पश्चात गमलामा पानी हालेर औपचारिक रूपमा गोष्ठीको समुद्घाटन गरिएको थियो। प्रमुख अतिथि सोनलले सम्बोधन गर्दै सञ्चारमाध्यम लोकतन्त्रको चौथो अंग तथा पहरेदार भएको उल्लेख गर्नुभयो। उहाँले पछिल्लो समय मिडिया क्षेत्रमा देखिएको आर्थिक संकट, विश्वसनीयता तथा पेशागत चुनौतीप्रति प्रदेश सरकारले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै विशेष नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

गोष्ठीमा दुईवटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएको थियो। नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव पुष्पराज खतिवडाले बारा जिल्लाको सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो भने नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालले सञ्चारमाध्यमले भोग्दै आएका समस्याहरू र तिनको समाधानका सम्भावित उपायबारे विस्तृत कार्यपत्र पेश गर्नुभयो। प्रस्तुत कार्यपत्रमाथि सहभागी सञ्चार माध्यमका प्रतिनिधिहरूले आ–आफ्नो अनुभव, धारणा र सुझाव राख्दै बारा र पर्साको पत्रकारितालाई मर्यादित, उत्तरदायी र दिगो बनाउन आवश्यक नीतिगत सुधारका विषयमा गहन छलफल गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष एवं मिडिया काउन्सिलका सदस्य श्याम प्रसाद बन्जाराले स्वागत मन्तव्य राख्दै गोष्ठीको उद्देश्य, महत्व र अपेक्षित उपलब्धिबारे प्रकाश पार्नुभयो। कार्यक्रममा मिडिया काउन्सिलका सदस्यहरू रिकु कुमारी मिश्रा, बन्दना कुमारी झा, मन्नु कुमार पासवान तथा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदी लगायत सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष सुरेश कुमार यादवले गोष्ठीमा सहभागी ५० वटै सञ्चार माध्यमबाट उठेका सुझाव, गुनासा र आवाजलाई समेटेर मिडिया काउन्सिलले प्रदेश सरकारसमक्ष ठोस सुझाव पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता गोष्ठीहरूले सञ्चार क्षेत्रका समस्या पहिचान गर्न र समाधानको मार्गचित्र तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

गोष्ठीले मधेश प्रदेशमा सञ्चारमाध्यमको वर्तमान अवस्था बुझ्न, साझा समस्या पहिचान गर्न तथा आगामी दिनमा सुदृढ, स्वतन्त्र र जिम्मेवार पत्रकारिता विकासका लागि सहकार्यको आधार तयार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको धारणा रहेको थियो।